काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्व सरकार नेपालको नभई विदेशीको प्रतिनिधि भएको बताएका छन्। नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कार्की नेतृत्वको सरकार आगोबाट बनेको बताए।

“यो आगोबाट बनेको सरकार हो भनेर भन्दै आएको छु। अहिले यति मात्रै भन्छु। पछि थप व्याख्या गरौँला”, ओलीले भने, “यो नेपालीको प्रतिनिधि सरकार होइन। अरू कसैको भए मलाई थाहा छैन।”

उनले अहिले सरकार ‘हाहाहुहु’बाट बनेको आरोप पनि लगाए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो पासपोर्ट रोकिएको विषयमा समेत आक्रोश व्यक्त गरे। “अस्ति एउटा सडक तामासा गर्नुभयो। पासपोर्ट रोक्का गर्ने तामासा। सुशीला कार्कीको डरले ओली गुटुङटुङ भाग्छ भन्ने लागेको होला”, ओलीले भने, “अहिले ओलीलाई र कांग्रेसका रमेश लेखकलाई कसरी पक्राउ गर्ने भनेर राति राति ३ बजेसम्म बैठक गरिरहनुभएको छ। यो तामासा नभए के हो?”

उनले काठमाडौँ उपत्यका छाड्न नपाउने भनिएकामा पनि त्यसलाई तमासाको संज्ञा दिए। उनले अहिलेको सरकार संविधानअनुसार नभई बलमिच्याइँले बनेको बताए। “देशमा सरकार छ, संविधानअनुसार बनेको छैन। बलमिच्याइँले बनेको सरकार छ। अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो, सपथग्रहण गर्ने वित्तिकै संसद भंग गर्छ नत्र जेन-जीले आगो बाल्छन्। संसद् भंग गर्ने पूर्वसर्त राखेर र सर्वभौम जनताको प्रतिनिधिहरूको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो,” ओलीले भने।