अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर घोषणा गरेपछि दुई मित्रराष्ट्रबीच कूटनीतिक चिसोपन
काठमाडौं। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लागू गर्ने निर्णय गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण भएको छ।
ट्रम्पको यो कदमसँगै अमेरिकाभित्र पनि भारतविरुद्धको नीतिलाई लिएर विरोध र चिन्ता बढिरहेको बीबीसीले जनाएको छ। अमेरिकन रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिकाले चीनसँगको सन्तुलन कायम राख्दा भारतजस्ता मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्नु अनुचित भएको बताएकी छिन्।
व्यापार र ऊर्जासम्बन्धी विवाद भए तापनि चीनविरुद्धको साझा रणनीति कायम राख्न आवश्यक रहेको उनको तर्क छ। अमेरिकी पूर्वविदेशमन्त्री जोन केरीले ट्रम्पको नयाँ कर नीतिले मित्र राष्ट्रहरूलाई टाढा गर्ने काम गरेको आरोप लगाएका छन्।
भारतसँगको सम्बन्धमा आएको तनाव दुर्भाग्यपूर्ण भएको र विगत २५ वर्षको कूटनीतिक प्रयासलाई चुनौती दिएको उनले बताए। अमेरिकी मिडियाले पनि ट्रम्पको कदमको आलोचना गर्दै भारतले आफ्नो कूटनीतिक रणनीति पुनर्विचार गर्नुपर्ने विश्लेषण गरेका छन्।
विशेषज्ञहरूले चीन र रूससँग सन्तुलन कायम गर्दै नयाँ रणनीति बनाउन आवश्यक रहेको बताएका छन्। ट्रम्पले भारतमाथि पहिलो चरणमा अगस्ट ७ मा २५ प्रतिशत र दोस्रो चरणमा अगस्ट २७ मा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका थिए। अमेरिकी प्रशासनले भारतले रूसबाट आयात गर्ने तेलमा यो कर वृद्धि गरेको जनाएको छ।