२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपालले आज (आइतबार) निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

दलको अध्यक्ष ३२ वर्षीय किरण विक छन्। बुटवलका विक जेनजी आन्दोलनमा पनि सहभागी थिए। उनले फिल्ममेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर गरेका छन्।

उनका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो ।

निर्वाचन आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराले नाम र चिह्नमा सुधार गर्न सुझाएको विकले नेपालन्युजलाई जनाए। पार्टीको चुनाव चिह्न ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ । दलको संघीय कार्यालय अनामनगरमा छ। पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ।

राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भ युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन्। विकका अनुसार निर्वाचन आयोगले आवश्यक कागजातसहित कात्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ ।