काठमाडौं। गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टीभी, अमेजन फायर टीभी, सामसुङ स्मार्ट टीभी, एलजी वेबओएसलगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा विराजसँगै उनका छोरा समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भासहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं विराज भट्टले लेखेका हुन्। पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।
नेपालकै प्रमुख पर्व तिहारको माहोलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्याउँदै आएको छ, र ‘१२ गाउँ’को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पीताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायत दर्जनौँ चलचित्र स्ट्रिमिङ भइरहेका छन्।
यो लिंकमा क्लिक गरेर चलचित्र ‘१२ गाउँ’ हेर्न सकिन्छ।