काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरिएको छ। ललितपुर सातदोबाटोस्थित एन्फा एकेडेमीअगाडि अधिकारीमाथि सोमबार साँझ एक युवाले दुर्व्यवहार गरेका हुन्।
दुर्व्यवहार गर्ने युवाको स्कुटर नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। “आफ्नो सवारीसाधन चालकलाई जिम्मा लगाएर पैदल हिँड्दै घर जाने क्रममा उहाँलाई रोकेर एकजना स्कुटर चालकले अनावश्यक दु:ख दिएको जानकारी आएको छ,” बोगटीले भने।
आफूमाथि अपरिचित व्यक्ति दुर्व्यहारको शैलीमा प्रस्तुत भएपछि अधिकारीले परिसर प्रमुख बोगटीलाई जानकारी गराएका थिए। “जानकारी आउनेबित्तिकै हामीले स्कुटरलाई नियन्त्रणमा लियौं, चालक फरार छन्,” बोगटीले भने, “फरार व्यक्तिको खोजी भइरहेको छ।”
जानकारी पाएलगत्तै घटनाबारे अनुसन्धान थालिएको बोगटीले बताए। “मौखिक उजुरी छ, उक्त घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेका छौं,” बोगटीले भने। अधिकारीको घर सातदोबाटो हो। घटनापछि प्रहरीले उनलाई घरसम्म छोडिदिएको छ।
महानिर्देशक अधिकारीले नेपालन्युजसँग कुरा गर्दै आफूमाथि दुर्व्यवहार भएको बताए। “दुर्व्यवहार गर्न खोजेपछि मैले प्रहरीलाई खबर गरें, स्कुटर प्रहरीले लिएर गएको छ,” अधिकारीले भने, “म सकुशल घरमा छु।