बढे सम्बन्धविच्छेदका मुद्दा
जुम्ला। सम्बन्धविच्छेदको उजुरी बढेसँगै जुम्लाका बासिन्दामा चिन्ता देखिएको छ। संयुक्त परिवारका रुपमा एकै घरमा तीन-चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्धविच्छेदसम्बन्धी उजुरी, मुद्दा-मामिला बढेको छ।
जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आव ०८०/८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्स्योट भई २१ वटा फैसला हुन बाँकी छन्।
यस्तै गत आव ०८१/८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्स्योट भई २६ वटा फैसला हुन बाँकी छन्।
यसैगरी चालु आवको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ उजुरी परेकामा १५ वटा फर्स्योट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ।
यसरी अदालतबाट प्राप्त अघिल्लो गत र चालु आवको तथ्यांक विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या बढिरहेको छ।
घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायत सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ। -रासस