काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएकी छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन्। नेपाल संवत् विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको उनको भनाइ छ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारी भए पनि नाफा कमाउने व्यापारी नभएको उनको भनाइ छ। साख्वाः एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको पनि उनले बताइन्।
सम्बोधनका क्रममा उनले ११४६ वर्षअगाडि राजा राघवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिएको र यो दिन नै नेपाल संवत्को शुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताइन्। विसं ९३६ मा नेपाल संवत्को थालनी गरिएको भन्दै उनले नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरू भएकाले यसको महत्त्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। नेपाल संवत् लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले नेपाल संवत्लाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्द्धन र व्यवहारिक रूपमा लागु गर्न तत्पराता देखाएको बताइन्। नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई विसं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। नेपाल संवत्लाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत् घोषणा गरिएको थियो।
…
प्रधानमन्त्री कार्कीको सम्बोधन:
नेपाल संवतको नयाँ वर्ष ११४६ को अवसरमा हार्दिक शुभकामना ! ‘न्हू दँ या भिंतुना!’
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा भैरहेको यस समारोहमा मलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा प्रतिष्ठानलाई हार्दिक आभार व्यक्त गर्दै शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु।
आज हामी नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक नेपाल संवत् ११४६ को नयाँ वर्ष प्रारम्भ र यसका प्रणेता, राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत् प्रवर्तन गर्नुभएको ऐतिहासिक दिवस मनाउने सन्दर्भमा भेला भएका छौँ।
यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् हो।
शंखधर साख्वा काठमाडौँको मरुसत्तल इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो। तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्र सीमित थिएन; एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।
आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।
उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरियो।
यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट होइन, बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरु भएकोले यसको महत्त्व निकै उच्च छ। अर्थात् यो लोकस्तरबाट उत्पत्ति भएको र लोककल्याणको विरासत बोकेको संवत् हो।
यस कुरालाई मनन गर्दा समाजमा स्वाभिमानी र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सृजना गर्न उहाँले दिनुभएको योगदान अविस्मरणीय छ। यसैको सम्मानमा उहाँलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो। र, २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ।
सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक रुपमा लागू गर्न तत्पर रहेको स्पष्ट रहेको मैले ठानेको छु।
साथै सरकारी कार्यालयमा नेपाल सम्वतको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन दिनुका साथै अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहन्छु। त्यसैगरी नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल सम्वत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।
नेपाल अझै पनि निरपेक्ष गरिबी र असमानतासँग लडिरहेको छ। समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाउनुभएको मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्नु आवश्यक छ।
नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासलाई उच्च राख्ने शंखधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ– व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।
२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु। आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्न जिम्मेवारी पाएको यहाँहरुलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानअनुसार जेनजी समूहको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व रहेको छ।
लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढंगले ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।
साथै निष्पक्ष निर्वाचन गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग-समूहको साथ र सहयोग रहनेछ भन्ने कुरामा विश्वस्त रहेको छु।
अन्त्यमा, आज सम्मानित व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दै शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्।
नयाँ वर्षले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्।
न्हूदया भिन्तुना।