काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सवारीचालक अनुमतिपत्र नवीकरण र नयाँ आवेदन छठपछि मात्रै

७ कार्तिक २०८२
मीनभवनस्थित जलेको यातायात व्यवस्था विभागको भवन। तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

जेन-जी आन्दोलनको पहिलो दिन २३ भदौमा नै काठमाडौँ मीनभवनस्थित यातायात व्यवस्था विभागमा आक्रमण भएको थियो। आन्दोलनको ‘इपिसेन्टर’ संसद् भवनको छेउमै रहेको विभागको भवनमा आक्रोशित भीडले तोडफोड गरे। २४ भदौमा त लुटपाट र आगजनीबाट यातायात विभागले आफ्नो स्वरूप नै गुमायो। भक्तपुरको सल्लाघारी र चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पनि आन्दोलनकारीको निशानाबाट जोगिएनन्।

आन्दोलनका क्रममा क्षति नभएका गुर्जुधारा, स्वयम्भू र एकान्तकुनास्थित यातायात कार्यालयहरूले २६ भदौबाटै नियमित सेवा दिन थाले। तर आगजनीमा परेका यातायात कार्यालयहरूको सेवा अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

विभागले भने पार्किङस्थलमा सहयोगबाट जुटेका भौतिक सामग्री राखेर कार्यालय सञ्चालनमा ल्याएपनि पूर्णरूपमा सेवा दिन सकेको छैन। विभागमा छापिएर आएका २५ हजार सवारीचालक अनुमतिपत्र रहेकोमा आगोले जलेर २२ हजार खरानी भएको विभागका सूचना-प्रविधि निर्देशक केशव खतिवडाले जानकारी दिए।

उनका अनुसार, विभागले छठपछि मात्रै सवारीचालक अनुमतिपत्र नवीकरण र नयाँ आवेदन खोल्नेछ।

यस्तै सवारीचालक अनुमतिपत्रलगायत विभागका अन्य अभिलेख पनि १७ भदौसम्मको सुरक्षित रहेको उनले बताए। १८ देखि २३ भदौसम्मको अभिलेख पनि भेटिएको एउटा हार्डडिस्कबाट ‘रिकभर’ गर्न सकिएमा सुरक्षित रहने उनको भनाइ छ।

प्रिन्टरलगायत अन्य उपकरणमा क्षति पुगेकाले नयाँ लाइसेन्स छपाई कहिलेदेखि हुन्छ भन्ने यकीन छैन। यस्तै, आगजनीपछि विभागमा नागरिकको डेटा सुरक्षित छन् कि छैनन् भन्ने आम चासो र चिन्ता छ। हामीले यो प्रश्न विभागका सूचना-प्रविधि निर्देशक खतिवडालाई सोधेका छौं।

हेर्नुहोस् भिडियो :