काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सोमबार वीरगन्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाबाट प्रभावित बिरामीबारे जानकारी लिँदै। तस्बिर : हिमाल लम्साल/रासस
अ+
अ-

पर्सा। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगन्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताए।

“नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उनले भने,“विश्व स्वास्थ्य सङ्गठनको पोर्टाेकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ। नत्र भने परिस्थितिवश थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु।’’

उनले बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो भए पनि अबदेखि औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउन निर्देशन दिए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिए। तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उनले बताए।

मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन्। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ बिरामी दर्ता भएको बताए।