काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गर्दै उनले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताइन्।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।”
उनले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताइन्। जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्न अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने पनि उनले बताइन्। मन्त्री शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राखिन्।
उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने आश्वासन पनि दिइन्। स्वास्थ्य सचिवका रूपमा काम गरिसकेकी नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुन्।