काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
पूर्णबहादुर खड्का। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचनपछि मात्र पार्टीको १५औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ।

पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बुधबार(आज) ललितपुरको एक होटेलमा बसेको संस्थापन समूहको बैठकमा यस्तो निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसको अर्थ वैशाख अन्तिममा पार्टीको नियमित महाधिवेशन हुने ती नेताको भनाइ छ।

बैठकमा केही केन्द्रीय नेताहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए। जसका लागि बिहीबार अर्थात् भोलिबाट हुने केन्द्रीय समिति बैठकमा सोहीअनुसार कार्यतालिका ल्याउनुपर्ने ती नेताहरूको धारणा थियो। तर‚ शीर्ष नेताहरू विमलेन्द्र निधि‚ कृष्ण सिटौलालगायतले भने चुनावपश्चात् महाधिवेशन गर्नुपर्ने र सोहीअनुसार केन्द्रीय समितिमा तालिका ल्याउनुपर्ने धारणा राखेका थिए।

“चुनावपश्चात महाधिवेशन गर्ने गरी तालिका ल्याउनुपर्ने बहुमत सदस्यहरूको मत छ। शीर्ष नेताहरूले पनि व्यवहारिक हुन र सोहीअनुसार चुनावपछिका लागि तालिका ल्याउनुपर्ने मत राख्नुभयो‚” ती नेताले भने।

संस्थापन समूहले विशेष महाधिवेशन भने गर्न नहुने स्पष्ट अडान लिनुपर्ने बैठकमा छलफल तथा निष्कर्ष निकालिएको ती नेताको भनाइ छ। साथै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बैठकमा साझा धारणा बनेको अर्का नेताले बताए।

“चुनावको मुखमा महाधिवेशन गर्न सकिँदैन। विशेष महाधिवेशन माग गर्नेहरूलाई पनि विश्वासमा लिएर जानुपर्छ भन्ने मत रह्यो‚” ती नेताले थपे।