काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृति नवीकरण गरेको छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। भारतको प्रसारण संरचनाको प्रयोग गरी बाङ्लादेशमा पनि विद्युत् निर्यात भइरहेको छ।
आईएक्स मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको हो। उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति यसअघि विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण भएको हो।
यसैगरी, द्विपक्षीय सम्झौताबमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो। हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिँदै थियो।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए।