काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

न स्रोत फेला, न नियन्त्रण

१० भाद्र २०८२
हैजा सङ्क्रमित बिरामीको अवस्था बुझ्न अस्पताल पुगेका वीरगन्जका मेयर राजेशमान सिंहलगायत।
अ+
अ-

पर्सा। वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा पाँच दिनसम्ममा पनि न नियन्त्रणमा आएको छ न त यसको स्रोत नै पत्ता लागेको छ। सुरुमा वीरगन्जको वडा नम्बर १२ मा देखिएको हैजा अहिले पर्साका अरू पालिकाका स्थानीयमा समेत देखिएको छ।

५ भदौमा छिटफुट रूपमा झाडापखालाका बिरामी भर्ना भएपछि भोलिपल्ट परीक्षण गर्दा वीरगन्ज–१२ मुर्लीका तीन जनामा हैजा पुष्टि भएको थियो। यसको भोलिपल्टै वडा नम्बर ३, ११, १२, १३ र ३० मा पनि हैजा फैलियो। हैजा सङ्क्रमितको संख्या दुई दिनमै ३६ पुग्यो।

गत आइतबार बिहानसम्म वडा नम्बर १४ का समेत गरी ४२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। आइतबार बेलुका ८ बजे सङ्क्रमितको संख्या बढेर ७१ पुग्यो। त्यही दिन वडा नम्बर ८ र १६ का समेत थप भएर अस्पताल भर्ना भई उपचार गराउने झाडापखाला र हैजाका बिरामीको संख्या एक सय ६१ पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार हाल हैजाका सक्रिय सङ्क्रमितको संख्या ९६ छ। सोमबार राति ९ बजेको तथ्यांकअनुसार सङ्क्रमितमध्ये आईसीयूमा २७ जना, एचडीसीयूमा ६ जना उपचाररत छन्। हैजा सङ्क्रमित तथा झाडापखालाका बिरामी गरी वार्डमा जम्मा एक सय २२ जना उपचाररत छन्।

यीमध्ये पर्साको विन्दवासिनी गाउँपालिका र पकहाँ मैनपुर गाउँपालिकाका एक–एक जनामा समेत हैजा सङ्क्रमण देखिएको छ। उनीहरू वीरगन्ज आउने जाने गरेकाले सङ्क्रमित भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

अस्पताल भर्ना भएकाहरूमध्ये हालसम्म एक सय ७८ जना डिस्चार्ज भइसकेका छन्।

पानीमा भेटिएन जीवाणु
हैजा व्यापक फैलिएपछि वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाले शनिबार र आइतबार सबैभन्दा बढी सङ्क्रमित देखिएका वडा नम्बर १२ र १३ का विभिन्न १२ स्थानको डीपबोरिङ र नेपाल खानेपानी संस्थानको धाराको पानी संकलन गरेको थियो। संकलित पानी प्रदेश सरकारको पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुर पठाइएको थियो।

प्रयोगशालामा परीक्षणका लागि पठाउन पानीको नमुना सङ्कलन गरिँदै।

प्रयोगशालाका असिस्टेन्ट केमिस्ट मनोजकुमार अधिकारीका अनुसार संकलित पानीमा झाडापखाला र हैजाको सङ्क्रमण हुने ई-कोली र दिसामा भेटिने फिकल कोलिफर्म जीवाणु भेटिएन। सोमबार साँझ सार्वजनिक रिपोर्टमा हैजा फैलाउने जीवाणु नभेटिएको जनाइएको छ। यद्यपि, आइतबार ४२ जना सङ्क्रमितमध्ये ११ जनाले खानेपानी संस्थानको पानी खाने गरेको प्रतिक्रिया दिएका थिए।

केही समयअगाडि खानेपानी अभावका बेला संघीय सरकारको खानेपानी मन्त्रालय, प्रदेश सरकार र वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा सयौं ‘डीप बोरिङ’ जडान गराएका थिए। तर खर्च कम गर्न र सजिलोका लागि भन्दै ती डीप बोरिङ तथा संस्थानको खानेपानीको पाइप ढलको नालामार्फत विस्तार गरिएको थियो।

त्यसो गर्दा कतिपय स्थानमा पाइप फुटेर पानी बगेको र पानी नभएका बेला सोही पाइपबाट नालाको फोहोर धारामा पुगेर हैजा सङ्क्रमण फैलिएको हुनसक्ने नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए। उनी भन्छन्, “एउटै वडामा यति धेरै संक्रमित देखिनुमा प्रमुख कारण ढलको फोहोर हुनसक्छ।”

नालाबाट लगिएको खानेपानीको पाइप।

तीन जनाबाट सुरु भएको हैजाबाट पाँच दिनमै ९६ जना सङ्क्रमित भएका छन्। हैजाको स्रोत भने अझै पता लागेको छैन। स्रोत पत्ता नलाग्दा हैजा अझै नियन्त्रणमा आउन नसकेको चिकित्सक बताउँछन्।

संस्थानकै पानी पिउँदै बिरामी
संस्थानको खानेपानीबाट हैजा फैलिएको पुष्टि हुन नसकेपछि बिरामीहरूले संस्थानकै पानी पिइरहेको बताएका छन्। वीरगन्ज महानगर र खानेपानी संस्थानले पनि नालाभित्र परेका र फुटेका पाइप मर्मत र व्यवस्थित गरिरहेका छन्।
बालबालिकामा हैजा फैलिए अवस्था भयावह हुने भन्दै महानगरले भदौ ८ गतेदेखि ११ सम्म विद्यालय बन्द गराएको छ।

यता हैजा सङ्क्रमण सुरु भएदेखि नै नियन्त्रणका लागि तीनै तहका सरकार लागिपरेका छन्। वीरगन्ज महानगरले हैजाबारे सचेतना फैलाउने, नाला सफा गराउनेदेखि उपचारमा सघाउने जस्ता काम गरिरहेको छ।
मधेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुघ्नप्रसाद सिंह ८ भदौमा वीरगन्ज आएर जिल्ला सुरक्षा समितिको बैठकमा हैजा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक औषधि, १० जना चिकित्सक, १० जना पारामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाएको जानकारी दिएका थिए। संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको बताएका थिए।

९ भदौमा संघीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि वीरगन्ज पुगेर हैजा फैलिनुको कारण पत्ता लगाउन र सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएका हैजाका बिरामीहरूको अवस्था निरीक्षणपछि स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालमा महामारीका बिरामीको उपचार पूर्णरूपमा निःशुल्क गरिएको बताएका थिए।

हैजा सङ्क्रमित भेट्न वीरगन्जमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल।

पर्सामा १० वर्षपछि हैजाको प्रकोप देखिएको हो। यसअघि २०७२ सालमा पनि हैजा देखिएको थियो। तर, अहिलेजस्तो फैलिएको भने थिएन।

पछिल्लोपटक काठमाडौं उपत्यकामा व्यापक रूपमा हैजा फैलिँदा सरकारले आकस्मिक योजना तयार गरेर नियन्त्रणमा लिएको उल्लेख गर्दै यसपटक वीरगन्जमा देखिएको प्रकोपलाई सचेतनाको अवसरका रूपमा लिनुपर्ने नारायणी अस्पतालका चिकित्सक निरज सिंह बताउँछन्।

हैजाका लक्षण र रोकथामका उपाय
नारायणी अस्पतालका चिकित्सक डा. सिंहका अनुसार भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा सङ्क्रमण हुन्छ। निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कम भई मांशपेसी दुख्ने र ज्वरो आउनेजस्ता हैजाका मुख्य लक्षण हुन्।

हैजाबाट जोगिनका लागि उमालेको वा निर्मलीकरण गरिएको पानी पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटकपटक हात धुन, खानपिनका भाँडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न डा.सिंहको सुझाव छ।