काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग स्थगित गरेपछि असन्तुष्ट खेलाडीहरूले बिहीबार विरोध प्रदर्शन गरेका छन्। नेपाल खेलाडी संघको अगुवाइमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडिको सडकमा खेलाडीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लिग स्थगनको निर्णय फिर्ता लिन माग गरेका छन्।
एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन भइरहँदा संघका प्रमुख अधिकारीहरू भने अनुपस्थित रहे। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अध्यक्ष पंकजविक्रम नेम्वाङ ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको दौडाहामा छन् भने महासचिव किरण राई हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन कार्यक्रममा सहभागी हुन गएका छन्। “अध्यक्षज्यू बेलुका वा भोलिसम्म फर्किनुहुनेछ। अन्य पदाधिकारीहरू पनि सोही कार्यक्रममा बाहिर हुनुहुन्छ,” उनले भने।

गत सोमबार एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। त्यसअनुसार चार वर्षपछि मात्र लिग सुरु हुने सम्भावना देखिएको छ।
पछिल्लोपटक विसं २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन।

खेलाडीहरूले भने दुई वर्षदेखि निरन्तर संवाद र दबाब दिए पनि एन्फाले लिग सञ्चालनमा ध्यान नदिएको आरोप लगाएका छन्। उनीहरूले लिग स्थगन गरेर आफूहरूमाथि अन्याय गरेको भन्दै एन्फा नेतृत्वसँग जवाफ मागेका छन्।
प्रवक्ता शाहले भने उपलब्ध पदाधिकारीको हैसियतमा खेलाडीहरूलाई वार्ताका लागि आग्रह गरेका छन्। “हामीले विवाद समाधान गर्न त्रिपक्षीय (खेलाडी, क्लब र एन्फा) छलफलको प्रस्ताव राखेका छौँ। यहाँका माग र सन्देश म जिम्मेवार नेतृत्वसम्म पुर्याउनेछु,” उनले भने।

