काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभा बैठकमा उनले शनिबार राजीनामा घोषणा गरे।
विश्वासको मतका लागि उनले समय लिएका थिए । तर, विश्वासको मत नपाउने निश्चितजस्तै भएपछि पदबाट राजीनामाको घोषणा गरे।
त्यसअघि उनको पक्षमा मत दिने भनेको नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेश सभाको रोस्ट्रममा भाषण गर्दै विरोध स्वरुप आफ्नै मुखमा आफैँले मोसो दले। उनले मधेसका कुनै पनि सरकार जनताको नभएको भन्दै प्रदेश सभा बैठकमै आफ्नो मुखमा मोसो दलेका हुन्। उनले प्रदेश सांसद हुनुमा आत्मग्लानि गर्दै विरोधस्वरुप मुखमा मोसो दलेको बताए।
यो पनि…
“कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम गरेन, हरेक सरकारले मधेसलाई लज्जित गरेको छ त्यसैले मैले आज आफ्नो अनुहारमा कालो मोसो दल्छु,” प्रदेश सभा बैठकमा अन्सारीले भने। उनले मधेसका कुनै पनि सरकारले जनताका पक्षमा काम नगरेकाले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को पक्षमा मत नदिने पनि बताए।
यसरी पहिले माओवादीले आफूलाई विश्वासको मत दिने ठानेका मुख्यमन्त्री सोनारले पदबाट राजीनामा गरेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा दाबी पेस गरेपछि प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत २९ असोजमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।