काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। गायक कमल विके ‘निर्मोही’लाई यस वर्षको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ।

नेपाली गीतसङ्गीतमा उनले पुर्‍याएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा ५१ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले निर्मोहीलाई सम्मान गरिएको हो।

गायक निर्मोही पछिल्ला वर्ष मिर्गौला रोगबाट पीडित रहँदा पनि निरन्तर साङ्गीतिक सिर्जनामा सक्रिय छन्। उनका ‘बुलबुले तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि स्रोतामाझ लोकप्रिय छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले निर्मोहीलाई सम्मान प्रदान गरे। पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैयासिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली सङ्गीतमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रज स्रष्टा र कलाकारलाई जीवनकालमा सम्मान गर्ने रहेको बताए।

चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ले गीतसङ्गीतमा आबद्ध कलाकारलाई दिइँदै आइएको नगद राशिसहितको पुरस्कार प्रेरणादायी रहेको भन्दै प्रशंसा गरे। यस्ता सम्मान कार्यक्रमले कलाकारहरूमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्ने काम गर्ने बताउँदै उनले कलाकर्मीलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने उल्लेख गरे।

अध्यक्ष डीसीले यस्ता कार्यक्रम हरेक क्षेत्रमा निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याए। उनले प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतको विकासका लागि योगदान दिएकामा पुरस्कार समितिका संरक्षक कन्हैयासिंह र अञ्जना गुरुङलाई धन्यवाद प्रकट गरे।