काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फुटबल

अन्तरिम प्रशिक्षक खड्कालाई ६ खेलको जितविहीन यात्रामा पूर्णविराम लगाउने चुनौती

२४ कार्तिक २०८२
राष्ट्रिय फुटबल टोलीका अन्तरिम प्रशिक्षक हरि खड्का। तस्बिर : एन्फा
अ+
अ-

नेपाली राष्ट्रिय फुटबल टोलीमा एउटा अनौठो संयोगको कथा लेखिने भएको छ।

नेपाली फुटबलका पूर्वस्ट्राइकर हरि खड्का मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय पुरुष टिमको बागडोर सम्हाल्दै छन्। यसमा संयोगका धेरै कुरा छन्। खेलाडी जीवनमा १३ गोल गरेका खड्का अहिले नेपालको १३औँ मुख्य प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा खेल्नेछन् स्ट्राइकर अञ्जन विष्ट, जसले खड्काकै १३ गोलको कीर्तिमान बराबरी गरिसकेका छन्।

अस्ट्रेलियन प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल डिरेक्टर खड्कालाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। मैदानको ‘साइडलाइन’बाट जितको रणनीति बुन्ने जिम्मेवारीलाई उनले अवसर र चुनौती दुवैका रूपमा स्वीकारेका छन्। “प्रो–लाइसेन्स प्रशिक्षक नभएको बेला मैले उक्त जिम्मेवारी लिन मिल्छ भन्ने कुरा भएपछि एन्फाले अगाडि सारेको हो। मैले यो अवसरलाई चुनौतीका रूपमा स्वीकार गरेको हुँ,” खड्का भन्छन्।

जुनसुकै प्रशिक्षक आए पनि अपेक्षा जितकै हो। खड्का पनि अपवाद होइनन्, अवगतै छन्। उनको पहिलो जिम्मेवारी बाङ्लादेशसँग मैत्रीपूर्ण हो। यसपछि उनले मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेलाउने छन्।

रोचक कुरा त, खड्काले प्रशिक्षकको रूपमा पहिलो खेल खेलाडी हुँदा १३ पटक हार बेहोरेको बाङ्लादेशविरुद्ध खेलाउने छन्। खेल १३ नोभेम्बरमै हुनेछ।

त्यसको पाँच दिनपछि नेपालले मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेलमा उनको प्रयास भनेको ६ खेलको जितविहीन यात्रालाई पूर्णविराम दिनेमा केन्द्रित हुनेछ। “हामीले जुन जुन नतिजा विश्लेषण गरेका छौँ, त्यसलाई अलिकति राम्रो ल्याउने कोसिस गर्नेछु,” उनी भन्छन्।

एएफसी एसियन कप छनोटअन्तर्गत अफगानिस्तानले आगामी १८ नोभेम्बरमा ढाकास्थित किङ्स एरिनामा म्यानमारसँग ‘होम म्याच’ खेल्ने तय थियो। त्यसअघि बाङ्लादेशले सोही मैदानमा १३ नोभेम्बरमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको थियो। तर, सबै तयारी पूरा भएपछि दुवै खेल रद्द भएको थियो।

भारत भ्रमणमा निस्कने तयारीमा रहेको बाङ्लादेशले अन्य टोली नपाएसँगै नेपाललाई रोजेको हो। नेपाल र बाङ्लादेश दुई महिनाको बीचमा दोस्रोपल्ट भिड्न लागेका हुन्।

यसअघि ६ सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाङ्लादेशसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, अर्को खेल ९ सेप्टेम्बरमा हुने तय भएपनि जेन-जी आन्दोलनका कारण रद्द भयो। त्यतिखेर पनि बाङ्लादेशले अहिलेझैँ नेपाललाई अन्तिम विकल्प मानेको थियो।

प्रिमियर लिग खेलिसकेका हम्जा चौधरी भित्र्याएसँगै एकाएक ‘हाइप’मा आएको बाङ्लादेशी टोलीले यसअघि युरोपेली राष्ट्रसँग खेल्ने प्रयास गरेको थियो। विदेशमा जन्मिएका आफ्नो मूलका खेलाडी भित्र्याएको बाङ्लादेश कुनै समय नेपालभन्दा बलियो टोली मानिन्थ्यो। यो टोलीले नेपालसँग २५ खेल खेल्दा १३ मा जित हात पारेको थियो। चार बराबरी खेल्दा ८ खेलमा नतिजा बाँडेको थियो। तर, अहिले बाङ्लादेशले उक्त लय गुमाएको छ।

पछिल्ला पाँच भेटमा यो टोलीले नेपालसँग तीन बराबरी र दुई हारको नतिजा बेहोरेको छ।

लय गुमाएको नेपाल, नआत्तिएका खड्का

बाङ्लादेशसँग खेल्नुको अर्थ १८ नोभेम्बरमा एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघिको बलियो तयारी गर्नु नै हो। हुन त मलेसिया नेपालजस्तो कमजोर टोली पनि होइन। जारी प्रतियोगितामा अपराजित रहँदै चार खेलबाट १२ अंक जोडेको मलेसिया साउदी अरबमा हुने एसियन कप छनोटको ढोकानजिक पुगिसकेको छ। नेपाल भने ठीक विपरीत दिशामा छ।

चार खेलमै पराजित भएको यो टोली अंक तालिकाको पुछारमा रहेर बाहिरिसकेको छ। नेपालले मलेसियासँग २–०, लाओससँग २–१ र भियतनामसँग ३–१ र १–० को हार बेहोरेको थियो। नेपालले अब सान्त्वना जितका लागि मलेसिया र लाओसँग खेल्नेछ।

विदेशी भूमिमा हुने यी दुवै खेल खड्काले राष्ट्रिय गौरवका लागि खेल्ने बताएका छन्। “यो हरि खड्काको होइन, यो देशको टिम हो। तर, हामी प्रतियोगिताबाट बाहिरिसकेकाले अब राष्ट्रको गौरवका र राष्ट्रका लागि खेल्नेछौँ। त्यो हिसाबले तयारी गरिरहेको छु,” उनी भन्छन्।

सहायक प्रशिक्षक चेतन घिमिरेका साथ प्रशिक्षक हरि खड्का। तस्बिर : एन्फा

हुन त नेपालको लय यो प्रतियोगितामा मात्रै गुमेको होइन। यसअघि हङकङ र बाङ्लादेशसँगको मैत्रीपूर्ण खेलमा पनि गुमेको थियो। ती दुवै खेलमा नेपालले गोलरहित बराबरी खेल्यो। यतिका खेलमा जित हासिल गर्न नसके पनि खड्का आतिएका देखिँदैनन्। बरु उनले मिडफिल्डमा दुई मात्रै परिवर्तन गर्दै जोखिम लिएका छन्। टोलीमा सेन्ट्ल मिडफिल्डर दीपेश गुरुङले पहिलोपल्ट स्थान बनाएका छन्। अर्कोतर्फ अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पुनरागमन गरेका छन्।

यी दुई टोलीमा आउँदा अनुभवी रक्षक विमल पाण्डे र अट्याकिङ मिडफिल्डर कृतीशरत्न छुन्जु भने बाहिरिएका छन्। नेपालसँग डिफेन्सिभ मिडफिल्डरको खाँचो छ। रोहित चन्दलाई उनले टिममा ‘ब्याक’ ल्याइसकेका छन्। दीपेश पनि टोलीमा जोडिँदा त्यो खाँचो पूरा गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन्। उनका अनुसार कृतीश बिरामी छन्। आदित्यलाई भने उनले ‘पोटेन्सियल’ देखेका खेलाडी हुन्। “अलिकति मलाई नम्बर ९ र नम्बर १० प्लेअर कसरी प्रयोग गर्ने भन्नेमा चुनौती छ। बाँकीबाट हामी सेट छौँ,” उनी भन्छन्।

आफ्नो समयमा हरि खड्का यी नम्बरमा खेल्दै कीर्तिमानी गोलकर्ता बने। उनी बाहिरिएपछि अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखलले उक्त नम्बरबाट खेले। त्यसपछि यो नम्बरमा विमल घर्तीमगरले पनि केही समय खेल्ने अवसर पाए। तर, यी खेलाडी बाहिरिएपछि नेपालले यतिको उत्कृष्ट खेलाडी भने पाउन सकेको छैन। तयारीका लागि छोटो समय भए पनि उनले टोलीलाई ट्रायलको हिसाबमा हेरिरहेका छन्। त्यसैले उनले मनीष डाँगीलाई यी नम्बरमा प्रयोग गर्ने योजना बनाएका छन्। आयुष घलान भने ‘फ्ल्यांक’ मात्र खेल्छन्।

उनलाई पनि कसरी प्रयोग गर्ने भन्नेमा उनको चिन्ता छ। “अब जुन टिम छ, मैले त्यसलाई नै एडप्ट गर्नुपर्ने हो। त्यसलाई नै परिचालन गर्नुपर्ने भएकाले म राम्रोसँग टिम तयार गर्छु जस्तो लाग्छ,” उनी भन्छन्।