काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अविकास

१३ करोडको बसपार्क पनि बन्ने/नबन्ने अझै अन्योल

४ मंसिर २०८२
डडेलधुराको अमरगढीमा निर्माणाधीन बसपार्क। यहाँ ५० वर्षदेखि बसपार्क बनाउने भनिए पनि अझै अनिश्चित छ। तस्बिर : श्याम भट्ट
अ+
अ-

पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच दशकसम्म पनि एउटा बसपार्क निर्माणले पूर्णता पाएन। ५० वर्षअघि अमेरिकी सहयोगमा यहाँको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले जोडेको थियो। त्यतिबेला देउवा विद्यार्थी राजनीतिमा सक्रिय थिए। तर, जेन-जी आन्दोलनपछि सन्न्यास लिने घोषणा गरेका देउवाको सक्रिय राजनीतिको लामो कालखण्डमा अमरगढी बसपार्क निर्माण उपेक्षित बन्यो।

देउवा अहिलेसम्म कुनै पनि चुनावमा डडेल्धुराबाट पराजित भएका छैनन्। त्यस्तै, उनी संसदीय चुनावमा डडेल्धुराबाहेक कुनै पनि निर्वाचन क्षेत्रबाट प्रत्यासी बनेका छैनन्। तर, देउवाको बलियो प्रभाव रहेको जिल्लामा ५० वर्षसम्म एउटा बसपार्क पनि बन्न नसक्नु दु:खद दृष्टान्त भएको छ।

सरकारी योजनाअनुसार काम भएको भए यही कातिक मसान्तसम्म त्यो बसपार्क निर्माण सकिन पर्थ्यो। तर, बसपार्क निर्माणको नाममा मंसिरको पहिलो सातासम्म जम्मा एउटा पर्खाल मात्र बनाइएको छ।

१७ महिना निर्माण अवधि रहेको अमरगढीमा निर्माणाधीन बसपार्क। तस्बिर : श्याम भट्ट

सुदूरको यो बसपार्क निर्माणको दुरवस्थाले देश विकासको गति लज्जाजनक रहेको देखाउँछ। १७ महिनाभित्र अमरगढी बसपार्कसहित तीनवटा भवन बनाउने जिम्मा पाएको कालिका, मालिका र युपी जेभीका सञ्चालक रघुवीर सिंह साउद सरकारी निकायको निकम्मापन र हेलचेक्र्याइँले हैरान भएको बताउँछन्। भन्छन्, “काम भएन भनेर गालीजति ठेकेदारले खाने हो। बसपार्कभित्रको महाभारत मलाई मात्र थाहा छ।”

दुई वर्षअघि नै ठेक्का हात पारेका उनी पहिलो वर्ष निर्माणस्थल नजिकैको सामुदायिक वनबाट हैरान पारिए। अमरगढी नगरपालिकामा काटिएका रूखबापतको एक करोड ११ लाख रुपैयाँ सामुदायिक वनको खातामा जम्मा नगरुन्जेल स्थानीयले कामै गर्न दिएनन्। गत असारअघि वन क्षेत्र कटानी भएपछि सिंहले बसपार्क निर्माण सुरु गरेका थिए। तर, अहिले दार्चुला, बैतडी र बझाङ जोड्ने राष्ट्रिय विद्युत् प्रसारण लाइन बसपार्कको बीचमा परेकाले निर्माणले गति लिन नसकेको साउदको तर्क छ। भन्छन्, “बसपार्क निर्माणको म्याद सकियो, अब कसरी काम गरूँ?’

डडेल्धुराको सदरमुकाम अमरगढीबाट चार किलोमिटर उत्तरतिर दार्चुला, बैतडी र बझाङ जोड्ने महाकाली राजमार्गको छेउमा बन्न लागेको बसपार्कमा बझाङ ३३ केभी र बैतडी ११ केभी राष्ट्रिय प्रसारण लाइन छन्, जसलाई अन्यत्र सार्न २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले विद्युत् बोर्डसँग बजेट माग गरे पनि अहिलेसम्म सुनिश्चित भएको छैन। ३३ केभी प्रसारण लाइन सार्न बोर्डको लिखित प्रतिबद्धता र सहमति आवश्यक रहने र त्यसैको प्रतीक्षामा आफू रहेको केन्द्र प्रमुख रमेश अवस्थी बताउँछन्।

५० वर्षदेखि अलपत्र डडेलधुराको अमरगढीको निर्माणाधीन बसपार्क। तस्बिर : श्याम भट्ट

सहरी विकास तथा भवन निर्माण विभाग कैलालीले डिजाइन गरेको डडेल्धुरा बसपार्कको अनुमानित लागत रु. १३ करोड हो। यसमा अढाईतले सपिङ कम्पलेक्स, टिकट काउन्टर र टर्मिनल भवन गरी तीन वटा भवन, शौचालय र पार्किङ क्षेत्रको निर्माण हुनेछ। यसको निर्माण अवधि १७ महिना हो। तर, तोकिएको अवधिमा बसपार्क बन्ने कुनै संकेत छैन।

“सुदूरपश्चिमकै नमुना बसपार्क बनाउने लक्ष्य लिएर थालिएको निर्माण अहिले आफैँ विकासको कुरूप नमुना बनेको छ,” पर्यटन तथा होटल व्यवसायी दान भण्डारी भन्छन्। उता दुई वर्षदेखि बसपार्क बनाउने जिम्मा पाएका ठेकेदार पनि गोलचक्करमा फसेका छन्।

सहरी विकास तथा भवन निर्माण विभागका योजना शाखाका कर्मचारी दीपक ओझाका अनुसार पुरानो डिजाइनमा राजमार्ग परेकाले अब नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ।

ठेकेदार कम्पनीका सञ्चालक साउद बसपार्क निर्माणको डिजाइन नै बदलिएकाले अन्योलमा परेको बताउँछन्। प्रसारण लाइन हटाएपछि बाँकी काम सुचारु हुने उनको आशा छ।

हुन पनि २०३० को दशकमा डडेल्धुरामा मोटर बाटो पुगेको हो। तर, अहिलेसम्म जिल्लामा एउटा व्यवस्थित बसपार्क पनि बन्न सकेको छैन। अमरगढीमा बसपार्क बन्ने सपना देखाउने नेताको कमी छैन। तर, त्यो सपना नारामै सीमित छ। २०५० को दशकमा डडेल्धुरासम्म सडक कालोपत्रे भएयता स्थानीयले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बसपार्क निर्माण गर्न पटक पटक माग गरेका थिए। तर, उनले त्यो माग पूरा नगरी सक्रिय राजनीतिबाट सन्न्यासको संकेत दिएका छन्। देउवाको निर्णयले अमरगढीमा एउटा भव्य बसपार्क बनाउने योजना थप अनिश्चित बनेको छ।