काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

कांग्रेस

आठ वर्षपछि नेतृत्वलाई नै चुनौती

३० पुष २०८२
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा (दायाँ) र महामन्त्री विश्वप्रकाश शर्मा
अ+
अ-

‘ह्वाट इज क्रेडिबिलिटी लेभल अफ युथ लिडर्स? दिस पार्टी इज अर्गनाइज्ड अराउन्ड देउवा, पौडेल एन्ड कोइराला।’ (युवा नेताको विश्वसनीयता कति छ? यो पार्टी देउवा, पौडेल र कोइरालाको वरिपरि संगठित छ।)

नयाँ संविधान जारी भएपछि पहिलोपटक २०७४ सालमा प्रतिनिधिसभा निर्वाचन हुन लागेको थियो। त्यसबेला कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसप्रति आकर्षण जगाउन चुनावी अभियानमा गगन थापा, विश्वप्रकाश शर्माजस्ता युवा नेताहरूलाई अघि सार्नुपर्ने पक्षमा एउटा ठूलै समूह थियो। त्यसका लागि पार्टी नेतृत्वमा दबाब बढ्न थाल्यो।

तर, यो कुरा सभापति शेरबहादुर देउवापत्नी एवं केन्द्रीय सदस्य आरजु राणाकहाँ पुगेपछि उनले ठाडै खारेज गरिदिइन्। युवा नेताहरूलाई पार्टीको चुनावी अभियानको ‘मुख्य अनुहार’ बनाउने प्रस्तावलाई नेतृत्वप्रतिको चुनौती मान्दै उनले यसलाई रोक्ने प्रयास गरिन्। त्यसै क्रममा उनले माथिको मेसेज अमुक नेताको मोबाइलमा पठाएकी थिइन्।

मेसेजमा उनले कांग्रेसभित्र युवा नेताहरूको कुनै हैसियत नभएको र पार्टी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कोइराला परिवारको वरिपरि संगठित रहेको लेखेकी थिइन्।

परिवर्तित राजनीतिक परिवेशमा अहिलेकै नेतृत्व लिएर पार्टी अघि बढ्न नसक्ने भन्दै उनीहरूले पार्टी र नेतृत्वको रूपान्तरणका लागि पार्टीमा दबाब बढाए।

त्यसबखत मुद्दा र संख्या दुवै दृष्टिकोणले कांग्रेस कमजोर अवस्थामा थियो। एकातिर, नेपालले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीको विरोध गर्न नसकेको भनेर कांग्रेसको आलोचना भएको थियो। प्रहरी महानिरीक्षकको नियुक्ति विवादमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‌मा कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले संयुक्त रूपमा महाभियोग दर्ता गरेपछि जनस्तरबाटै चर्को विरोध भएको थियो।

त्यस स्थितिबाट कांग्रेसलाई उकास्न चुनाव प्रचारमा गगन र विश्वप्रकाशलाई अघि सार्नुपर्ने प्रस्ताव पार्टीभित्र एउटा समूहले गरेको थियो। थापा र शर्मालाई ‘स्टार क्याम्पेनर’ बनाउने तयारी थियो। तर, त्यो प्रस्तावमा संस्थापन पक्षले चित्त बुझाउने कुरै थिएन। त्यसलाई रोक्ने अभियानको नेतृत्व गरेकी आरजुले युवा नेताको शक्ति र सामर्थ्यबारे प्रश्न गरेकी थिइन्।

मंसिर २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनसामु कांग्रेस निरीह देखियो। नेकपा (एमाले) र माओवादी केन्द्रले गठबन्धन गरेको चुनावमा एमालेले प्रत्यक्षमा ८० र माओवादीले ३६ सिट जित्दा कांग्रेस २३ सिटमा सीमित भएको थियो। ८० वर्षको इतिहास भएको कांग्रेस त्यसबेला सबैभन्दा कमजोर अवस्थामा पुगेको थियो।

गगन र विश्वलाई पार्टी संस्थापनले रोक्न खोजे पनि कार्यकर्तामाझ उनीहरूको लोकप्रियता बढ्दै गयो। १४औँ महाधिवेशनबाट दुवै जना महामन्त्रीमा निर्वाचित भए। महाधिवेशनमा उनीहरू फरक फरक समूहबाट उम्मेदवार बनेका थिए। त्यस समयमा थापाले करिब दुई तिहाइ मत पाएका थिए। प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवार भए पनि शर्माले आफ्नो लोकप्रियताका आधारमा चुनाव जितेका थिए।

महामन्त्रीद्वय गगन र विश्व दुवै विद्यार्थी राजनीतिबाट उदाएका हुन्। २०४० सालमा कांग्रेस राजनीतिमा लागेका विश्वप्रकाश भने २०५७ सालमा नेविसंघको अध्यक्ष नै भएका थिए। उनी २०७२ सालमा पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी

२०४६ सालदेखि राजनीतिमा सक्रिय गगन तत्कालीन संस्थापन पक्षले नचाहँदा नचाहँदै २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए। तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला उनको विपक्षमा थिए। २०६२/६३ को आन्दोलनका ‘पोस्टर बोई’ उनले त्यसबाट थप लोकप्रियता हासिल गरे।

पार्टी महामन्त्री फरक फरक समूहबाट जिते पनि गगन र विश्व पछिल्लो समय राष्ट्रिय राजनीति र कांग्रेस सुधारको विषयमा एक ठाउँमा उभिँदै आए। महामन्त्रीको जिम्मेवारी भए पनि पार्टीका गतिविधि अघि बढाउँदै गर्दा दुवैले सभापति देउवाले अघि सारेको नीतिको आलोचना गर्न छाडेनन्। जसका कारण उनीहरू संस्थापनको पेलाइ र उपेक्षामा परिरहे।

२३-२४ भदौको जेन-जी आन्दोलनपछि पुराना दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस सुरु हुँदा कांग्रेसभित्र महामन्त्री गगन थापाको अगुवाइमा नेतृत्व परिवर्तनको बहस सुरु भयो। त्यसमा अर्का महामन्त्री विश्वप्रकाशले साथ दिए।

परिवर्तित राजनीतिक परिवेशमा अहिलेकै नेतृत्व लिएर पार्टी अघि बढ्न नसक्ने भन्दै उनीहरूले पार्टी र नेतृत्वको रूपान्तरणका लागि पार्टीमा दबाब बढाए।

संस्थापन पक्ष नियमित महाधिवेशन फागुनपछि गर्ने अडानमा रहँदा संस्थापनइतर समूह मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका नआए विशेष महाधिवेशन गर्नुपर्ने भन्दै त्यसका लागि अभियान नै बढाइरहेको थियो। महामन्त्री गगनको अगुवाइमा विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर अभियान नै चलाइएको थियो। संस्थापन पक्ष फागुनअघि नयाँ नेतृत्वका लागि महाधिवेशन गरे चुनावमा असर पर्ने बताइरहेको थियो। उता, नेतृत्व परिवर्तनका पक्षधर भने अहिलेकै नेतृत्व लिएर चुनावमा गए पार्टीले क्षति बेहोर्ने भएकाले महाधिवेशन अनिवार्य भएको अडानमा थिए।

त्यस्तो दबाबबीच गत २८ असोजमा सभापति देउवाले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। केन्द्रीय कार्यसमितिको बैठकमा उनले आफू उपचारका लागि सिंगापुर जान लागेको भन्दै कार्यवाहक दिएका थिए। त्यसलाई उनी आइन्दा कांग्रेसको कार्यकारी भूमिकामा सक्रिय नहुने अर्थमा हेरिएको थियो।

तर, सिंगापुरबाट फर्किएपछि देउवाको राजनीतिक सक्रियता रोकिएन। पार्टीभित्रका निर्णय र अन्य दलसँगको छलफलमा अग्रसर भइरहे। खासगरी, जेन-जी आन्दोलनले विस्थापित गराउनुअघिसम्म सत्तासहयात्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ११औँ महाधिवेशनबाट तेस्रोपटक नेतृत्वमा आएपछि देउवाले सक्रिय बन्ने आड पाए। राष्ट्रपतिले बोलाएको प्रमुख दलको बैठक र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागितादेखि एमालेसँग चुनावी गठबन्धनसम्बन्धी छलफलमा देउवा नै सहभागी भए। पार्टीका खटनपटनमा उनकै सक्रियता रह्यो। कार्यवाहक सभापति खड्काले जिम्मेवारीअनुसारको अधिकारको अभ्यास गर्नै पाएनन्।

अन्तत: पार्टी निर्णयविपरीत विशेष महाधिवेशन गरेको भन्दै देउवा समूहले बुधबार महामन्त्रीद्वय गगन, विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ।

त्यसबाट असन्तुष्ट बनेका महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि दबाब चर्काए। ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर जुटाएर पार्टी विधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको आवाज उठाइरहे।

तर, सभापति देउवा र संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वयलाई पेल्ने र गलाउने रणनीतिमा लागे। विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न कांग्रेस केन्द्रीय समितिमार्फत पुसको २६ देखि २८ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरियो। तर, कार्यतालिकाअनुसार काम नहुँदा महाधिवेशन सम्भव देखिएन। केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनको कार्यतालिका संशोधन गरी वैशाखमा गर्ने तय गर्‍यो।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई संस्थापनले बेवास्ता गरेको भन्दै अन्तत: महामन्त्रीद्वय गगन र विश्वले विशेष महाधिवेशनको आह्वान गरे। उनीहरूको अगुवाइमा आइतबार (२७ पुस)देखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमै अघि बढ्यो। महामन्त्रीद्वयले बन्दसत्रको हलले नै अन्तिम निर्णय गर्ने भन्दै निर्वाचन समिति गठन गरेर चुनावी प्रक्रिया अघि बढाए।

एकातिर निर्वाचन प्रक्रिया चलिरहँदा पार्टी विभाजन रोक्न भन्दै अर्कातिर संस्थापन र महाधिवेशन पक्षधरबीच संवाद पनि चलिरहेको थियो। सभापतिले सक्रिय भूमिका छाड्नुपर्ने, चुनावमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने, विशेष महाधिवेशनको साझा स्वामित्व लिनुपर्नेलगायत माग विशेष महाधिवेशन पक्षधरले राखेका थिए। तर, विभिन्न चरणमा वार्ता भए पनि सहमति जुट्न सकेन।

अन्तत: पार्टी निर्णयविपरीत विशेष महाधिवेशन गरेको भन्दै देउवा समूहले बुधबार महामन्त्रीद्वय गगन, विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ। ललितपुर, सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पाँच वर्षका लागि निष्कासन गरेको छ।

३० पुसको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

यता विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। दुई महामन्त्री पदमा प्रदीप पौडेल र गुरु घिमिरेको उम्मेदवारी परेको छ।

विशेष महाधिवेशनमार्फत कांग्रेसमा भएको यो विद्रोहसँगै पार्टी दुई चिरा बनेको छ।

आरजुले कम आँकेका युवा नेता प्रखर रूपमा उदाउँदा आठ वर्षअघि मोबाइल-सन्देशमा उनले लेखेझैँ आज कांग्रेस चोइटिँदा एउटा समूह देउवा, पौडेल र कोइरालाको घेरामै खुम्चिन पुगेको छ।

गगन निकटका युवा नेता शंकर तिवारी दोस्रो जनआन्दोलनदेखि पार्टीभित्र र बाहिर विचार निर्माताका रूपमा आफूलाई स्थापित गर्दै आएका कारण अहिले गगन पार्टीको संस्थापन भएको बताउँछन्। “पार्टीको विचारलाई पार्टीभित्र र बाहिर राम्रोसँग सञ्चार गर्न सक्ने नेता रहँदै आउनुभयो,” उनी भन्छन्, “संसदीय र खुला राजनीतिमा राम्रोसँग सञ्चार गर्न सक्ने व्यक्तिको ठूलो अर्थ हुन्छ।”

पार्टीभित्र र बाहिर पनि लोकप्रिय रहेका कारण कार्यकर्ताले गगनलाई अनुमोदन गरेको तिवारीको तर्क छ।

राजनीतिक विश्लेषक झलक सुवेदी नियमित महाधिवेशनसम्म गगनहरू कार्यवाहक सभापति पूर्णबहादुरकै नेतृत्वमा जान तयार रहेको अवस्थामा देउवाको पुन: सक्रियताले अहिलेको परिस्थिति ल्याएको बताउँछन्। “सत्तामुखी दूषित राजनीति र सिद्धान्तविहीन गठबन्धनका वाहक बनेका देउवासहितका प्रमुख नेताहरूलाई पहिले नै नेतृत्वबाट हटाउनुपर्ने थियो, गगनहरूले पहिले गर्न सकेका थिएनन्, जेन-जी आन्दोलनले त्यसका लागि वातावरण बनायो,” उनी भन्छन्।

कांग्रेसमा भएको विभाजनले राष्ट्रिय राजनीतिलाई नै नयाँ दिशामा लैजान सक्छ। कांग्रेसमा भएको विद्रोहले अन्य राजनीतिक दलहरूमा रूपान्तरणका लागि दबाब पर्ने सुवेदी बताउँछन्। “कांग्रेसको वैधानिकता गगनतर्फ गयो भने यो चुनावमा कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुन्छ,” सुवेदी भन्छन्, “पार्टी नेतृत्व परिवर्तन गर्न नसक्दा समाजमा जुन निराशा थियो, त्यसलाई गगनहरूले एक हदसम्म चिरे।”

पार्टी नेतृत्वलाई चुनौती दिएपछि देउवा समूहले गगन-विश्वलाई कारबाहीको डन्डा चलायो। तर, शेरबहादुर-आरजुसहितको संस्थापनले कुनै बेला चुनावी अभियानका लागि लायक नै नठानेका गगन र विश्वप्रकाश विशेष महाधिवेशनबाट नयाँ शक्ति बनेर उदाएका छन्। जसले अब देउवा र उनको वरिपरिका नेताहरूको एउटा पंक्तिलाई नै असान्दर्भिक तुल्याउन सक्छ।

आठ वर्षअघिको मोबाइल-सन्देशमा आरजुले कम आँकेका युवा नेता विद्रोहबाट प्रखर रूपमा उदाउँदा अर्को कुरा भने उनले लेखेजस्तै भएको छ, तर असहज रूपमा। अर्थात् विशेष महाधिवेशन पक्षधरको विद्रोहपछि संस्थापन पक्षको कांग्रेस देउवा, कोइरालालगायतको साँघुरो घेरामै खुम्चिन पुगेको छ।