सात सवाल

३ माघ २०८२
अ+
अ-

वोर्सेस्टर पोलिटेक्निक इन्स्टिच्युट, अमेरिकाबाट कम्प्युटर साइन्समा विद्यावारिधि गरेकी दोभान राई शिक्षण र लेखनमा सक्रिय छिन्। एआईसम्बन्धी शोध गरेकी उनी बडी एन्ड डेटाकी रिसर्च एन्ड डेभलपमेन्टकी कार्यकारी निर्देशक हुन्। उनी डिजिटल अधिकार, नारीवादी मुद्दा, न्याय र समावेशिताको क्षेत्रमा पैरवी गर्छिन्। राईसँग नेपालन्युजले गरेको पुस्तक संवाद :

पछिल्लोपटक पढेर सकाएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?

अरुन्धती रोयको मदर मेरी कम्स टु मी। यस आत्मसंस्मरणात्मक पुस्तकमा उनी जटिल स्वभावकी आफ्नी आमासँगको जटिल सम्बन्धलाई बुझ्ने प्रयास गर्छिन्। यो ‘जेनेरेसनल ट्रमा’ र ‘फेमिनिस्ट जेनेरेसनल स्ट्रगल’ दुवैको अभिलेख र अध्ययन हो।

अहिले म डेभिड ग्रेबर र डेभिड वेन्ग्रोलिखित दी डन अफ एभ्रिथिङ : अ न्यु हिस्ट्री अफ ह्युम्यानिटी पढ्दै छु। मानव सभ्यताको ‘युरोसेन्ट्रिक लिनियर न्यारेटिभ’ लाई चुनौती दिँदै समाज विकासको विविधतालाई व्याख्या गरेर लेखिएको पुस्तक रोचक छ।

तपाईंलाई मन पर्ने विधा?

मलाई मानव मस्तिष्क र अनुभवसम्बन्धी विषयहरू, जस्तै– मनोविज्ञान, अध्यात्म र इतिहास, साथै प्राकृतिक विज्ञानमा आधारित पुस्तकहरू मन पर्छ।

अध्ययन गर्ने समय, स्थान, वातावरणबारे बताइदिनुहोस् न। औसतमा अध्ययनलाई दैनिक कति समय छुट्याउनुहुन्छ?

म नियमितभन्दा ‘बर्स्ट’ शैलीमा पढ्छु। यदि कुनै पुस्तक सुरु गरेँ र मन पर्‍यो भने, त्यसलाई एकैपटक पूरा गर्न मन पराउँछु। यदि अवसर मिल्यो भने, साँझको घामको प्रकाश पर्ने झ्यालछेउमा बसेर पढ्न मन पराउँछु।

तपाईंका प्रिय तीन पुस्तकका नाम। ती पुस्तक मन पर्ने कारण?

शंकर लामिछानेको बिम्ब : प्रतिबिम्ब, डाकर केल्टनरको अ : द न्यु साइन्स अफ एभ्रिडे वन्डर एन्ड हाउ इट क्यान ट्रान्सफर्म योर लाइफ र तारा ब्राकको र्‍याडिकल एक्सेप्टेन्स

नेपाली साहित्य सिक्दै गर्दा जब बिम्ब: प्रतिबिम्ब पुस्तक पाएँ, तत्कालीन साहित्यिक र कलात्मक समयलाई बुझ्न पाएको महसुस भयो। यो शैली र सौन्दर्यचेतको हिसाबले रोमाञ्चक अनुभव गराएको पुस्तक पनि हो।

द न्यु साइन्स अफ एभ्रिडे वन्डर मानिसले कसरी प्रकृति, कला र समुदायबाट ‘अ’ को भावना अनुभव गर्न सक्छ र कसरी यसले जीवनमा ‘मिनिङ’ र ‘ट्रान्ससेन्डेन्स’ दिन्छ भन्ने उजागर गर्ने पुस्तक हो, जसले आध्यात्मिकता र विज्ञानलाई जोड्छ।

र्‍याडिकल एक्सेप्टेन्स बौद्ध आध्यात्मिक ज्ञान, मनोविज्ञान र नारी अनुभव र नारीवादी मूल्य प्रणालीलाई जोड्ने सुन्दर पुस्तक हो।

पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?

‘जिज्ञासु’ प्रवृत्ति मेरो व्यक्तित्वको एक प्रमुख गुण हो जस्तो लाग्छ। त्यसैले पुस्तक मेरा लागि अत्यन्त आवश्यक कुरा हो। जैविक र समयकालको सीमिततामा गुम्सिरहेको महसुस हुँदा पुस्तकले मलाई स्वतन्त्रताको अनुभूति दिन्छ। पुस्तकले इतिहासका पात्र र घटनाहरू पढ्दा मलाई प्रेरणा र विनम्रता दुवै सिकाएको छ। कहिलेकाहीँ पढाइलाई म मानसिक पीडा कम गर्ने उपाय वा एक प्रकारको लतका रूपमा पनि प्रयोग गर्छु।

पुस्तक किन पढ्ने?

पुस्तकले वास्तविकता बुझ्न मद्दत गर्छ र हामीलाई नयाँ वास्तविकता कल्पना गर्न प्रेरित गर्छ। यसले हामीलाई आफ्नै वास्तविकता अझ गहिरोसँग बुझ्न, प्रत्यक्ष अनुभव नगरिएका कुरा बुझ्न, कल्पनाशक्तिको प्रयोग गर्न र अरूले भोगिरहेका फरक वास्तविकतालाई समानुभूतिसाथ बुझ्न सहयोग गर्छ।

डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?

डिजिटल युगमा पठन संस्कृति जोगाउन धेरै कठिन छ, र म पनि संघर्ष गर्छु।

यसका लागि पुस्तक पढ्ने अनुभव अनलाइन पठनभन्दा कसरी विशेष रूपमा फरक हुन्छ भन्ने बुझ्न आवश्यक छ। विशेषगरी बालबालिकामा पढ्ने बानी विकास गराउनुपर्छ। साथै, पुस्तकबारे छलफल गर्न प्रोत्साहित गर्नु, पुस्तक सजिलै उपलब्ध गराउनु र पठनसँग सम्बन्धित सामुदायिक गतिविधिहरू सञ्चालन गर्नु पनि महत्त्वपूर्ण उपाय हुन्।