सात सवाल
बहुचर्चित हास्यप्रधान सिनेमा छक्का पन्जाका शृंखलाहरूमा अभिनेता, कथा–पटकथा लेखक र निर्मातासम्मको भूमिका निर्वाह गरेका दीपकराज गिरी हँसिलारसिला गफ गर्न माहिर मानिन्छन्। रेडियो नाटक, टेलिशृंखला र सिनेमा सबै माध्यममा उनले हास्य विधामार्फत लोभलाग्दो सफलता प्राप्त गरेका छन्। रामविलास होस् वा राजा, उनले निर्वाह गरेका चरित्रलाई दर्शकहरूले रुचाएका छन्। हाँस्न अनि हँसाउन पोख्त कलाकार गिरीसँग नेपालन्युजले उनको परिचयविपरीत आँसु संवाद गरेको छ :
गहभरि आँसु हुने गरी रोएको क्षण?
एक होइन, अनेक छन्। कहिले छोडेर जानेहरूले रुवाए, कहिले सँगै हुनेहरूले रुवाए।
रुन चाहेर पनि रुन नपाएको क्षण पनि छ कि?
आँखाले रुन खोज्छ, दिमागले रोक्छ, किनकि लोग्नेमान्छे भएर रुन हुन्न रे!
रोइरहेको बेला कसैले देखेर अप्ठ्यारो मान्नुपरेको छ?
कसैले रोएको देख्ला भनेर त चस्मा लगाइन्छ।

कुनै महिलाको प्रेममा परेर रुनुभयो?
संसारमा पुरुष रुने भनेकै प्रायः महिलाकै लागि हो। कोही मायाको भिख मागेर, कोही सँगै बस्दा बस्दा वाक्क भएर रुन्छन्।
प्रेमिका वा श्रीमतीको अगाडि रुनुभएको छ?
छ नि, श्रीमतीका अगाडि रोइएको छ। कुराले सम्झाउन नसकेपछि रुनु परेन?
कुनै फिल्म हेरेर, कथा सुनेर, गीत सुनेर वा किताब पढेर रोऊँ रोऊँ लागेको छ?
म बच्चामा स्वस्थानी पढेर रुन्थेँ, विशेष गरेर नवराज ब्राह्मणको अध्यायमा। फिल्म हेर्दा वा कथा पढ्दा आँखामा आँसु आइहाल्छ।
मदिरा पिएर रुनुभएको छ?
त्यो पनि छ। भावुकताको केमिकल मिसाइएको हुने रहेछ, रक्सीमा।