परिकार

२४ माघ २०८२
अ+
अ-

बृहत् अन्नपूर्ण पदमार्गको मूल ढोका हो- लमजुङ बेशीसहर। त्यसैका लागि आउने पर्यटक लक्षित गरेर बेशीसहरको मूल सडक मात्र होइन, दक्षिणमा झ्याङ खोलादेखि उत्तरमा सहजी खोलासम्मै फैलिँदै गएका छन्- अत्याधुनिक क्याफे, रेस्ट्रो र होटेल।त्यहीँनेर परम्परागत खाजा घर बिस्तारै ओझेलमा पर्दै गएको देख्दा मन अलि खिन्न हुन थालेको थियो। तर अचानक बेशीसहरकै उम्दा रेस्टुराँ, बरन्डा रेस्ट्रोको मेनुमा सानका साथ राखिएको खोले/फाँडो देखेपछि मन प्रसन्न भयो। केही समयका लागि त्यतै बस्दै आएका भाइ विक्रम न्यौपानेले मेनुमा खोले/फाँडो देखेकै रहेनछन्। उनी दङ्ग परे र भने- अब हरेक साँझ खोले नै खाने हो।

गाउँले परिवेशमा हुर्केका धेरैका लागि खोले वा फाँडोले खानाभन्दा पनि बढी महत्त्व राख्छ, यो बाल्यकालको सम्झना हो, आमाको माया हो अनि आफ्नोपनको स्वाद हो।

बरन्डा रेस्ट्रोले खसी वा राँगाको सुकुटी, भटमास र च्याउ गरी तीन स्वादमा खोले/फाँडो पस्कने व्यवस्था गरेको रहेछ। विक्रमले रोजे च्याउको खोले। पर्यटकलाई लक्षित खाना बनाउन तालिम पाएका भान्छेहरूले खोलेलाई अलिकति पोरिजको रूप दिएछन्। सिधै भन्दा, बाक्लो खोले बनाएछन्। विक्रमले भने, “अलि सुप टाइपको बनाउन लगाउनु पर्छ अर्को पालि।”

त्यहीँ भेट भए नाताले भाइ तर आफ्नो व्यावसायिक जीवनमा उत्तरोत्तर प्रगति गर्दै गण्डकीका पूर्वमुख्यन्यायाधिवक्ता, अधिवक्ता राजेन्द्र घिमिरे। “भोलि फुर्सद छ त दाइ?” सन्चो बिसन्चोको औपचारिकता छोडेर उनले सिधै सोधे, “गाउँतिर जाने हो?”

“काम छ यार,” भनेको मात्र के थिएँ, राजेन्द्रले जवाफ फर्काए, “यादवलाई भनेर किसेदीको असला माछाको व्यवस्था हुँदैछ।” यादव घिमिरे धेरै वर्ष विदेशमा काम गरेर फर्केका भाइ। धेरैले गाउँ छोडेका बेलामा उनीचाहिँ गाउँमै राम्रै व्यवसाय गर्न सकिन्छ भनेर प्रमाणित गरेर बसेका छन्। यादवलाई भनेपछि पक्का व्यवस्था हुन्छ असला माछाको। मन लोभियो, स्वादे जिब्राले कामलाई केही घण्टा पर सार भन्यो र गाउँ जाने निधो भयो।

किसेदी खोला।

गाउँ अर्थात् दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरा। मर्स्याङ्दीका दुई प्रमुख शाखा नदी दोर्दी र किसेदीले घेरिएको नौथर सेरा पुग्न पहिले झन्डै आधा दिनसम्म हिँडेको अनुभव छ। तर अहिले डुम्रे-बेशीसहर-चामे राजमार्गबाट मर्स्याङ्दी तरेर गुणस्तरीय पिच बाटोमा सललल गाडी गुडाउँदै १५/२० मिनेटमै पुगियो- नौथर सेरा।

नौथर सेरामा पाँच वर्षदेखि दोर्दी किसेदी रेस्टुरेन्ट एन्ड लज खोलेर बसेका छन्, चितवनका राजकुमार रावल। उनकै रेस्टुरेन्टमा यादवले व्यवस्था गरेका रहेछन् असला माछाको। होटेलका भान्छे स्थानीय सोमप्रसाद श्रेष्ठ असला माछा पकाउने तयारीमा थिए।

“पाउन त यतातिर असला, कत्ले, अनि त्यो कालो कालो बुधना जस्ता माछा पाइन्छ, तर सबैले रुचाउनेचाहिँ असला नै हो,” सोमप्रसाद श्रेष्ठ भन्दै थिए।

माछाको झोल बनाउन गोलभेँडा पिस्दै गर्दा सोमप्रसादले भने, “यतातिर ठ्याक्कै माछा मार्ने पेसामा नै चाहिँ कोही छैन। मन लागे सबैले मार्ने हुन्। तर पढ्न खर्च जोहो गर्न पर्ने अनि बेरोजगार केटाहरूलाई खर्चबर्च चाहिँदा माछा मार्दै हिँड्छन्।”

आफ्ना कुरा सुनाउँदै उनले कराइमा तेल तताए, तेज पत्ता फुराए, काटेको प्याज हालेर भुट्न थाले, अलि भुटिएपछि, पिसेको लसुन, अदुवा,  बेसार, जिरा-धनियाको धूलो हालेर फेरि भुटे अनि पिसेको गोलभेँडा हाले,  थोरै टिमुर पनि हाले, नुन पनि हाले, अनि आफैँले तयार गरेको सर्स्युंको धूलो हाले मस्तसँग। “सर्स्युं त माछा बनाउन अनिवार्य चाहिन्छ। अनि कागती। नभए हामीले जस्तै चूक हाले नि हुन्छ,” सोमप्रसाद बोल्दै काम गर्दै गए। अनि हेर्दाहेर्दै लगभग भरिएको कराइमा झोल भकभक उम्लिन थाल्यो। त्यसपछि सोमप्रसाद पखालेर राखेको माछा एक एक गर्दै हाल्दै गए र भने, “अब एकैछिनमा पाक्छ।”

मसला धेरै हाले माछाको स्वाद भन्दा झोलमा मसलाको स्वाद मात्र आउँछ भन्दाभन्दै सोमप्रसादले नानीदेखिको बानी छोड्न सकेनन् र माछा मसला नाम गरेका बट्टाका तयारी मसला छरिछाडे।

त्यसबीचमा होटेलका साहुजी राजकुमार रावलले दुखेसो गरे, “अब कति छ र असला पाउने दिन। हाइड्रोले पानी नछोड्ने, माछा पानीबिना नबाँच्ने?”

हुन पनि मनासलु हिम शृङ्खलाबाट आउने दोर्दी खोलाको निरन्तर बहाव नै यसको दुस्मन भएको छ, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, १२ मेगावाट दोर्दी–१ जलविद्युत् आयोजना र २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनालगायतका रन अफ द रिभर हाइड्रोहरू बनेका छन्।

“अब किसेदी बाँकी छ। त्यसमा अलि अलि पाइन्छ असला। नत्र सकियो। पूरै खोलै हाइड्रोलाई बेचिदिने कस्तो चलन आको नेपालमा?, ” साहुजी राजकुमारले निर्दोष पारामा भने।

खासमा नेपालका कानुन र नीति अनुसार त जलविद्युत् आयोजनाले नदीनालाको वातावरणलाई जोगाउन नदीको कम्तीमा १० प्रतिशत बहाव तल्लो क्षेत्रमा छोड्नुपर्छ, यसैलाई इफ्लो भन्छन्, तर कानुनको कमजोर कार्यान्वयनका कारण अधिकांश आयोजनाले इफ्लोको पालना गर्दैनन्। देश हेरी इफ्लोको मात्रा १० देखि ३० प्रतिशतसम्म छ तर  विश्व बैङ्कले अन्तर्राष्ट्रिय व्यापारका लागि बनाएको आईएफसी (इनेटरनेसनल फिनान्स कोअपरेसन) ले त्यस्तो निश्चित प्रतिशतभन्दा पनि वैज्ञानिक मूल्याङ्कन र स्थानीय सन्दर्भअनुसार इफ्लोको व्यवस्था गर्न जोड दिएको छ।

भारतमा गरिएको केही अनुसन्धानअनुसार मनसुनमा बहने नदीहरूको पारिस्थितिक कार्यलाई जोगाइराख्न निश्चित मौसममा प्राकृतिक प्रवाहको ४० देखि ६० प्रतिशतसम्म पानी इफ्लोका लागि छोड्न पर्छ भनेका छन्। किनभने, हाम्रोमा नदीनालाको महत्त्व नदीको पारिस्थितिक प्रणाली र जैविक विविधतासँग मात्र जोडिएको छैन, नदी हाम्रा लागि खेती किसानीदेखि जीविकोपार्जनको स्रोत हो र सँगै नदीनाला हाम्रा सांस्कृतिक र आध्यात्मिक मान्यतासँग गहिरो रूपमा जोडिएको छ।

यतिको गन्थन सोच्दै गर्दा पाकेको असला माछालाई नौ वटा बटुकामा बराबर भाग लगाउँदै थिए सोमप्रसाद।

असला माछालाई नौवटा बटुकामा भाग लगाउँदै साहुजी राजकुमार रावल।

शिजोथोराक्स रिचार्डसोनी वैज्ञानिक नाम भएको असला माछालाई  स्नो ट्राउट पनि भन्छन्। यो नेपाल हिमाली नदीको माथिल्लो भू–भागमा व्यापक रूपमा पाइने चिसो पानीमा बस्ने  रैथाने माछा प्रजाति हो। यो प्रायः हिमनदीबाट आएको, तीव्र बहाव भएका नदी र खोलाहरूमा पाइन्छ। विश्व संरक्षण संस्था आईयूसीएनले यसको अवस्था संवेदनशील भनेको छ, जसको अर्थ हो- प्राकृतिक अवस्थामा यो लोप हुने जोखिम उच्च छ। जलविद्युत् विकास र नदी नियमन, अवैध/अत्यधिक माछा मार्ने अभ्यास, पानीको गुणस्तरमा आएको गिरावट, नदी तटमा बालुवा थुप्रिएर भएको सेडिमेन्टेसन तथा निर्माण सामग्रीका लागि बालुवा र ढुङ्गा उत्खननजस्ता अनेकन् कारणले असला माछाको अस्तित्व खतरामा छ।

छेउमा छङछङ बगेको किसेदी। चौरमा फैलिएको पारिलो घाममा बसेका आठ जना सोमप्रसादले बटुकामा ल्याएको असला माछाको स्वाद लिँदै थिए। कसैले भन्यो, “किसेदीमा पनि सकिएपछि त ट्राउट खाने त होला नि?” अधिवक्ता राजेन्द्र घिमिरेले अलि बुझाउँदै भने “किसेदीको यो असला भनेको लोकल कुखुराजस्तै हो के ! खोलामा घुम्दै ससाना किरा खाँदै लेउ खाँदै हुर्केको माछा। त्यो ट्राउटचाहिँ बोइलर कुखुरा हो। बोइलरलाई जसरी नै ट्राउटलाई पनि दाना खुवाएर जोगाउँछन्। एउटै सीमित घेराको पानीमा राखेर पाल्छन्। त्यो भएर बोइलर ट्राउटभन्दा असला धेरै असल।”

अनि कसैले यी दुवै ट्राउटको डीएनए त एउटै होला भन्ने कुरा पनि उठाए। त्यसको जवाफ अर्कोले दिए- यो असलाको डीएनए र हाम्रो डीएनएमा यही किसेदीको पानी त दौडिरहेको छ नि! साँच्चै हो त, एउटा वातावरणले बनाएको मान्छे र माछा। माछाको बाँच्ने आधार खोसिँदै छ अनि मान्छेको बाच्ने वातावरणचाहिँ कहिलेसम्म टिक्ला त?