कास्की। पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्दैछन् ।
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा दिउँसो २ः०० बजे यी दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यही माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेतासमेत रहेको बङ्गलादेशले लिगका तीनवटै खेल जितेर नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनल प्रवेश गरेको हो । भारतले दुई जित र एक हारसहित छ अङ्कसहित लिगको उपविजेता बनेर फाइनलमा पुगेको हो ।
बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–० र अन्तिम खेलमा घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो । भारतले पहिलो खेलमा नेपाललाई १–० गोलले हराउँदा दोस्रो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भयो भने अन्तिम खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो ।
दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ०को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ ९एन्फा०को आयोजनामा पोखरामा पहिलोपटक साफ महिला फुटबल आयोजना गरिएको हो ।