काठमाडौँ। सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै ६ महिनामा २४ उपलब्धि हासिल गरेको बताएको छ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा मन्त्रालयगत उपलब्धिको विवरण उल्लेख गरिएको छ। जसमा सुशासन कायम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यालयको पुनःसंरचना गरिएकोदेखि उखुको मूल्य निर्धारण र सडक कालोपत्रे गरिएको विवरणलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
चालु आवको ६ महिनामा १६० किलोमिटर सडक कालोपत्रे भएको, १० वटा सडक पुलको निर्माण सम्पन्न भएको छ। त्यसैगरी १६ वटा झोलुङ्गे पुल र १३ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ।
अहिले नेपालको कुल विद्युत् जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ र ९७ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।
यी हुन सरकारले दाबी गरेका २४ उपलब्धि
१. सुशासन कायम गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यालयको पुनःसंरचना गरिएको छ।
हेलो सरकारमा प्राप्त गुनासोहरूको औसत फछर्यौट दर ६५.६७ प्रतिशत पुगेको छ।
२. अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार-सुझाव आयोगको प्रतिवेदनका आधारमा आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ कार्यान्वयनमा ल्याएको छ।
३. संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत अर्थ मन्त्रालय अन्तर्गतका ३८ वटा कार्यालय र ३२३ वटा दरबन्दी कटौती गरिएको छ।
४. नेपालले सार्वभौम क्रेडिट रेटिङ सम्पन्न गरी ‘बीबी-’ नतिजा प्राप्त गरेको छ, जसले लगानीको वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
५. विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर २० बाट घटाएर ५ रुपैयाँ कायम गरिएको छ।
६. भदौ २३ र २४ को आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायका लागि कर छुट र सहुलियत सहितको एकीकृत व्यवसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ।
७. पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न बायोइथानोल मिश्रण गर्ने व्यवस्था मिलाइएको छ।
८. उखुको न्यूनतम खरीद मूल्य प्रति क्विन्टल ६२० र थप अनुदान ७० रुपैयाँ निर्धारण गरिएको छ।
९. समीक्षा अवधिमा ४ लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरीदका लागि टेन्डर आह्वान गरी २ लाख ४३ हजार मेट्रिक टन वितरण गरिएको छ।
१०. थप १० जिल्लाका ९४,५७२ गरीब घरपरिवारको सूची मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।
११. सामाजिक सुरक्षा कोषमा आबद्ध लाभग्राहीको संख्या २७ लाख ४० हजार ९० र रोजगारदाता प्रतिष्ठानको संख्या २२ हजार ६४३ पुगेको छ।
१२. समीक्षा अवधिमा ५ लाख ९० हजार ७१८ जना नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ।
१३ कार्बन व्यापार नियमावली, २०८२ र वन नियमावली (तेस्रो संशोधन) कार्यान्वयनमा ल्याई ४८ वटा प्रदूषण नमुना विश्लेषण गरिएको छ।
१४. नेपालगन्ड विमानस्थलको टर्मिनल निर्माण ७० प्रतिशत र विराटनगरको ६० प्रतिशत कार्य सम्पन्न भएको छ।
१५. स्थानीय तहका लागि “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (नमूना), २०८२” तर्जुमा गरी पठाइएको छ।
१६. समीक्षा अवधिमा १६० कि.मी. सडक कालोपत्रे र १० वटा सडक पुलको निर्माण सम्पन्न भएको छ।
१७. कुल विद्युत जडित क्षमता ४,०८६ मेगावाट पुगेको छ र ९७ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ।
१८. सुरक्षण मुद्रण केन्द्रमार्फत स्मार्ट ड्राइभिङ लाइसेन्स छपाई सुरु गरिएको छ र एआई (AI) सेन्टर स्थापना गरिएको छ।
१९. ९३ वटा आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भई ६२ वटा सञ्चालनमा आएका छन्।
२०. जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त ४३ वटा विद्यालय पुनर्निर्माणको प्रक्रियामा रहेका छन्।
२१. मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन गरी काठमाडौंमा दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ।
२२. दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ८९१ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।
२३. सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको पहिचानका लागि ७७ वटै जिल्लामा बायोमेट्रिक भेरिफिकेसन प्रणाली लागू गरिएको छ।
२४. १६ वटा झोलुङ्गे पुल र १३ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ।
यो पनि…