फिल्म समीक्षा
‘शक्ति’ को उद्देश्य उत्पीडित समुदायका पात्र कमजोर देखाउनु होइन। जातीय पहिचान नलुकाई प्रतिवाद गर्ने ‘एजेन्सी’ स्थापित गर्नु हो।
पहाडमुनि खोला किनारको शान्त परिवेशमा प्रेमी (अमेरिकी नागरिक)को अँगालोमा बाँधिएर आशावादी भविष्य कल्पिँदै टोलाएका आँखा। उनीसँगै विवाहको क्षणमा खुसीले चम्किएका आँखा। सन्तान जन्मेपछि बच्चातिर हेरेर मुस्काइरहेका आँखा। अनि, श्रीमान्ले आफू र छोरीलाई सधैँका लागि छाडेर जाने बेलाका उदास आँखा।
यी आँखा शक्ति फिल्मकी मुख्य पात्र दुर्गा (लक्ष्मी बर्देवा)का हुन्। फिल्मका सुरुआती संवादविहीन दृश्यहरू मुख्य पात्रका आँखाको भावबाटै स्थापित गरिएका छन्।
अर्को दृश्यमा दुर्गा अस्पतालको भुइँ पुछिरहेकी हुन्छिन्। पृष्ठभूमिमा टेलिभिजनमा महिला हिंसाविरुद्ध प्रतिरोधको आवाज उठिरहेको छ। दुर्गा सुरुमा त झस्किन्छिन्। न्याय र परिवर्तनका लागि लड्ने कुरा सुनेपछि उनका आँखा टेलिभिजनको स्क्रिनमा एक टक अडिन्छन्। यसले संकेत गर्छ, फिल्म छुवाछुत र महिला हिंसाको कथामा केन्द्रित छ।
९ वर्षीया छोरी लीला (पोलिना ओली) र दिदी माया (मेनुका प्रधान) नै दुर्गाका संसार हुन्। छोरीका सम्पूर्ण खबर उनी दिदीमार्फत लिन्छिन्। अस्पतालबाट थकित भई घर पुग्ने उनी मायासँग चुरोट तान्दै छोरीको हालखबर सोध्छिन्। विगतका घाउ सुमसुम्याउँदै बसेकी उनी छोरी हुर्काउने अभिभाराले थिचिएकी छन्। तैपनि, दिदी माया र छोरीका साथमा उनको जीवनले लय समाइरहेको छ।
चित्र बनाउन रुचाउने लीलालाई घरनजिकैको आर्ट स्कुलमा भर्ना गरेपछि यो लय टुट्छ। आर्ट स्कुलका शिक्षकले लीलालाई सुरुमा पखेँटा फिँजाउने चराको चित्र बनाउन सिकाउँछन्। चराका पखेँटा बनाउन सिकिरहेकी लीलालाई शिक्षकले शरीरमा जथाभाबी छुन थालेपछि उनलाई आफ्नै प्वाँख काटिएको महसुस हुन्छ।

फिल्मको एक दृश्यमा पोलिना ओली र आकाश नेपाली। तस्बिर : एआरएआरको फेसबुकबाट
त्यसअघि चञ्चल र निर्बाध देखिने लीला चाहेर पनि आफ्नो समस्या कसैलाई बताउन सक्दिनन्। दुर्गा र मायालाई छोरीको स्वभावमा आएको परिवर्तन महसुस हुन्छ, तर कारण थाहा हुँदैन। लीलाको मौनताको कारण पत्ता लगाउन दुर्गा र माया जति विचलित हुन्छन्, दर्शक उति असहज बन्छन्।
लीलालाई ज्वरो आउन थालेपछि दुर्गा उनलाई लिएर सुरुमा डाक्टर (जीवन भट्टराई) र पछि माता (सरिता गिरी)कहाँ पुग्छिन्। माताले लीला बिरामी भएको कारण खुलाइदिन्छिन्। यतिबेला लाग्छ, के कारण खुलाउन अन्धविश्वासकै सहारा लिनुपर्थ्यो र?
मातालाई जोखना देखाएर दुर्गा र लीला रुझ्दै हिँड्छन्। त्यसपछि अर्को दृश्यमा दुर्गा आगोनजिकै उभिएको देखिन्छ। कराहीबाट आइरहेको बाफले उनको उकुसमुकुस मनस्थितिको चित्रण गर्छ। त्यही दृश्यमा अर्को छेउमा माया लीलालाई अँगालोमा बेरेर बसेकी छन्।
फिल्मको पहिलो चरणले यौन दुर्व्यवहारले पार्ने मानसिक आघातलाई स्थापित गर्छ। त्यसपछि कथा प्रतिरोध र न्यायको खोजीतिर केन्द्रित हुन्छ।

मेनुका प्रधान र पोलिना ओली।
छोरीलाई दुर्व्यवहार गर्ने शिक्षकलाई दुर्गाले मुख छाडेको दृश्य शक्तिशाली छ। लीलाका शिक्षक दुर्गालाई उल्टै ‘तँ कमिनी’ भन्छन्। शिक्षकको प्रतिक्रियाले गैरदलितले दलित महिलालाई अपमानजनक र तिरस्कारपूर्ण भाषा प्रयोग गर्ने स्वाधिकारको स्मरण गराउँछ।
लीलाले भोगेको घटनाले माया स्वयंलाई आघात हुन्छ। लीलाजस्तै आफू पनि विगतमा यौनहिंसामा परेको उनी खुलासा गर्छिन्। यतिबेला एउटै फ्रेममा देखिने दुर्गा र माया मौन भई एकअर्कालाई हेर्छन्। यौनहिंसाबाट आमाछोरी नै प्रताडित हुने अन्तरपुस्तागत भोगाइले फिल्मको मूल विषयलाई अझै कसिलो बनाउँछ।
आफ्नो जातीय पहिचान नलुकाई प्रतिवाद गर्ने दुर्गाको ‘एजेन्सी’ नै फिल्मको शक्ति हो।
कानुनी उपचार खोज्ने क्रममा दुर्गाले एकपछि अर्को कानुनी अड्चन खेप्छिन्। हेलाहोचो भोग्छिन्। यस्ता मुद्दामा जातीय रूपमा पिँधमा रहेको दलित समुदाय अझै बढी प्रताडित बन्छ। जातीय र लैंगिक विभेदको दोहोरो उत्पीडनको संरचनाले दलित महिलालाई अझ कमजोर बनाउँछ। तर, शक्तिको उद्देश्य अन्य फिल्ममा झैँ उत्पीडित समुदायका पात्र कमजोर देखाउनु होइन। आफ्नो जातीय पहिचान नलुकाई प्रतिवाद गर्ने दुर्गाको ‘एजेन्सी’ नै फिल्मको शक्ति हो।
शक्ति बहुअर्थी नाम हो जसलाई लेखक/निर्देशक नानी सारा वाकरले सचेत रूपमा प्रयोग गरेकी छन्। यसमा शक्तिबाट वञ्चित र शक्तिको दुरुपयोग गर्नेबीचको लडाइँ छ। यस लडाइँले समाजमा वास्तविक शक्ति कसको हातमा छ भन्ने प्रश्न उठाएको छ। फिल्ममा यिनै विशेषता भएकाले शक्ति १३औँ ‘नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव’ मा जुरी मेन्सन अवार्ड जित्न सफल भएको थियो।

‘शक्ति’ का लागि पुरस्कार ग्रहण गर्दै निर्देशक नानी सारा वाकर। तस्बिर : नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव
कीर्तिपुर, ललितपुरलगायत ठाउँमा छायांकन गरिएको फिल्ममा उपत्यकाको आध्यात्मिक पक्षलाई पनि शक्तिकै रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। हिन्दु तथा बौद्ध धार्मिकस्थल र त्यहाँ हुने गतिविधि देखाउन पशुपतिनाथ, स्वयम्भूजस्ता ठाउँ निर्देशकको प्राथमिकतामा परेको छ। छायांकनका लागि धार्मिक र पर्यटकीय थलो रोजिएको छ। पूजा गरिरहेका दृश्य दोहोरिएका छन्। पशुपतिको आरती होस् वा भिक्षुहरूको लस्कर कतिपय दृश्यको सन्दर्भ स्थापित हुन नसकेको महसुस हुन्छ। यी स्थानलाई निर्देशकले ‘पर्यटकको आँखा’ ले हेरेको भान हुन्छ।
फिल्मको मुख्य ध्येय महिला शक्ति स्थापित गर्नु हो। मुख्य पात्रहरू दुर्गा, लीला र मायाको नाममै पनि शक्ति जोडिएको छ। माताले पनि लीलालाई भन्छिन्, ‘‘तिमीभित्र शक्ति छ, नानी।’’
उत्पीडनका दोहोरो-तेहरो संरचनाका आयामलाई फिल्मले भावनात्मक र कानुनी दुवै पाटोबाट चित्रण गर्छ।
मानसिक अन्तर्द्वन्द्वसँग जुधेका पात्रलाई जीवन्त बनाउन मुख्य कलाकार लक्ष्मी, मेनुका र पोलिनाको अभिनयले महत्त्वपूर्ण काम गरेको छ। माता सरिता गिरी, शिक्षकका बुवा प्रकाश घिमिरे, शिक्षक आकाश नेपाली, डाक्टर भट्टराई र शिक्षिका सृष्टि श्रेष्ठलगायतको अभिनय पनि चरित्रसुहाउँदो छ।
यो फिल्म बन्दै गर्दा नेपालको कानुनले यौन दुर्व्यवहारका घटनामा उजुरी दिन ३५ दिनको हदम्याद तोकेको थियो। फिल्ममा यौनहिंसाजस्तो संवेदनशील मुद्दामा न्याय माग्नेका लागि यही हदम्याद बाधक बनेको मुद्दा उठाएको छ। उत्पीडनका दोहोरो-तेहरो संरचनाका आयामलाई फिल्मले भावनात्मक र कानुनी दुवै पाटोबाट चित्रण गर्छ। फिल्म सार्वजनिक हुनुअगावै यो हदम्याद बढाएर दुई वर्ष पुर्याइएको छ। हदम्याद पूर्ण रूपमै हटाइनुपर्ने आवाज अझै उठिरहेको छ। निर्देशक वाकर पनि हदम्यादको प्रावधान राख्न नहुने पक्षमा छिन्।

‘शक्ति’ का दुई दृश्य।
सिनेमाको विकासक्रममा मुख्यतः दुई धार हाबी छन्। एउटा यथार्थलाई पर राख्दै प्रभुत्वशालीका विचारलाई मलजल गर्ने र अर्को स्थापित धारणलाई धक्का दिँदै सत्यको सामना गर्ने। शक्ति दोस्रो धारमा पर्छ। यसको उद्देश्य बहिष्करणमा पारिएका पात्रहरूको संघर्षलाई सामाजिक चेतनाका रूपमा प्रस्तुत गर्नु हो।
निर्देशक वाकरले जात, लैंगिकता, कानुनी प्रक्रियालगायत विषयमा सार्वजनिक संवाद सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरेकी छन्। शक्तिजस्ता फिल्मले वास्तविक घटनाका आधारमा कथा भन्छन्, ती कथामा दर्शकको भावनात्मक र वैचारिक संलग्नताको आग्रह पनि राख्छन्। शक्तिको आग्रह पनि यही हो।
महिला पात्र बहुल शक्तिले असहजताको कथा भन्छ। फिल्मको विषयजस्तै महिलाभित्र पनि दलित महिला केन्द्रमा छन्। फिल्मका पात्र मात्र नभई यसका कलाकार-सर्जकहरू पनि यही पृष्ठभूमिका भएकाले पर्दाभित्र र बाहिरको अन्तरसम्बन्धबारे पनि यसले छलफलको माग गर्छ।
दुर्गाका आँखाका भावबाट सुरु हुने फिल्म पनि दुर्गाको हेराइमै गएर टुंगिन्छ। दुर्गाका आँखा ‘फोर्थ वाल’ भत्काउँदै दर्शकतिर फर्किन्छन्। र, फिल्मको अन्त्यमा बज्ने डिम्रितीको गीतको भावमा प्रश्न गर्छन्–
अझै पनि मभित्र
मानवता बाँकी छ
मेरो धैर्यको कारण
यो कानुनमा छ कि पिँजडामा?