उड्डयन
दसैँतिहारका बेला विमान ‘ग्राउन्डेड’ हुन नदिन इन्जिन भाडामा लिने तयारी
नेपाल वायुसेवा निगमले आफ्ना दुवै एयर बस ए-३३० वाइडबडी विमान पूरै मर्मत (ओभरहल)का लागि विश्वव्यापी बोलपत्र आह्वानको तयारी थालेको छ। व्यावसायिक उडान सुरु भएको सात वर्षमा दुवै विमानलाई पालैपालो ‘ओभरहल’ गरिन लागेको हो।
एयर बस ए-३३० विमानलाई ६ हजार उडान चक्र पूरा गरेपछि ओभरहल गर्नुपर्ने प्रावधान छ। निगमका अनुसार यो चक्र पूरा हुन एयर बस मकालुको ४०० उडान चक्र र अन्नपूर्णको ५०० उडान चक्र बाँकी छ।
“उडान चक्र यति मात्रै बाँकी रहनु भनेको ओभरहलको संवेदनशील बिन्दुमा पुगेको भन्ने हो,” निगमका प्रवक्ता देवेन्द्र पुन भन्छन्। उनका अनुसार दुवै जहाज ओभरहलका लागि एकैपटक बोलपत्र आह्वान गर्न लागिएको छ। दुवै जहाजको ओभरहलका लागि पाँच अर्ब रुपैयाँजति पर्ने अनुमान गरिएको छ।
निगमका अनुसार मकालुलाई आगामी असोज र अन्नपूर्णलाई माघसम्ममा ओभरहलका लागि पठाइने गरी बोलपत्र आह्वान गर्न लागिएको हो। “मंगलबारसम्ममा बोलपत्र आह्वान गरिनेछ,” पुन भन्छन्।
सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार नै निगमले बोलपत्र आह्वानको तयारी गरिरहेको छ। “खरिद ऐनको प्रावधानका कारण ओभरहलको समयभन्दा आठदेखि १२ महिनाअगावै प्रक्रिया थाल्नुपर्ने अवस्था छ,” पुन भन्छन्।
सुरुमा निकालिने ४५ दिने सूचनामा संलग्न हुने कम्पनीबीच दाबीविरोध, प्राविधिक र आर्थिक मूल्यांकन, आशयपत्र, सम्झौतालगायत प्रक्रियाका लागि कम्तीमा तीन महिना लाग्न सक्छ। सबैभन्दा कम कबोल गर्ने कम्पनीसँग सम्झौता गर्नुपर्ने खरिद ऐनको प्रावधान छ। “खरिद ऐनका सबै प्रावधान पूरा गर्नैपर्ने भएकाले आठ महिनाअघि नै प्रक्रिया थालिएको हो,” पुन भन्छन्।
निगमले फ्रान्सको एएआर कम्पनीबाट १४ असार २०७५ मा अन्नपूर्ण र सोही वर्षको १० साउनमा मकालु विमान खरिद गरेको हो।
कम्तीमा चार महिना लाग्ने, भाडाको इन्जिन जोडिने
एयर बस ए-३३० वाइडबडी मर्मत गर्न कम्तीमा चार महिना लाग्नेछ। मकालु वाइडबडी विमानको मर्मत भइरहँदा दसैँ-तिहारजस्ता पर्व पर्छन्। यस्तो बेला यात्रुहरूको चाप बढ्ने हुँदा जहाज ग्राउन्डेड भइहाले निगमले आर्थिक लाभ गुमाउन सक्छ।
यसको विकल्पका रूपमा निगमले भाडामा इन्जिन लिने सम्बन्धमा पनि काम गरिरहेको छ। यसका लागि पनि बोलपत्रको तयारी गरिरहेको पुन बताउँछन्। भन्छन्, “विमान नै भाडामा लिने कि इन्जिन भाडामा लिने विकल्पमा हामीले दोस्रो विकल्प रोजेका छौँ,” पुन भन्छन्, “विमान नै भाडामा लिँदा लगानी पनि बढी हुन्छ, त्यसअनुसारको व्यावसायिक कार्ययोजना पनि हुनुपर्छ।”
तर, कुनै पनि बेला यी जहाजमा इन्जिन बिग्रिन सक्ने सम्भावना देखेर जगेडा इन्जिनको जोहो गर्नुपर्ने योजना निगमसँग छैन।
अन्नपूर्णलाई ओभरहलमा पठाउँदा पनि भाडाकै इन्जिन प्रयोग गर्ने निगमको योजना छ। “अन्तर्राष्ट्रिय कम्पनीहरू जसले कम कबोल्छन्, तीमध्ये एयर बस पनि सहभागी हुन सक्छ,” पुन भन्छन्। निर्माता कम्पनी एयर बससँग लिजमा इन्जिन लिँदा बोलपत्र आह्वान गरिरहन पर्दैन। तर, एयर बसले महँगो मूल्य तोक्न सक्ने भएकाले पनि खरिद ऐनकै प्रक्रिया अपनाइएको उनी बताउँछन्।
तर, कुनै पनि बेला यी जहाजमा इन्जिन बिग्रिन सक्ने सम्भावना देखेर जगेडा इन्जिनको जोहो गर्नुपर्ने योजना निगमसँग छैन। “अतिरिक्त इन्जिन किनेर राख्दा ठूलो आर्थिक भार पर्न जान्छ, नियमित मर्मत र सुरक्षा, बिमा तथा सुरक्षित स्थानमा राख्दासमेत आउने खर्चको व्यवस्थापन सुनिश्चित हुनुपर्छ,” पुन भन्छन्।
निगमको आर्थिक विनियमावली २०६५ को परिच्छेद २४ मा इन्जिन, पाटपुर्जाको खरिद, ओभरहल र मर्मत गराउनेसम्बन्धी व्यवस्था छ। विनियम २१६ (१) अनुसार इन्जिनियरिङ विभागले समय र मितव्ययिताका आधारमा इन्जिन वा पाटपुर्जाको खरिद, ओभरहल, मर्मत, मोडिफिकेसन वा मालसामान प्राप्त गर्न मर्मततालिका निश्चित गर्छ। जहाजका पाटपुर्जा औसत आयुका हुन्छन्। फेर्नुपर्ने समयावधिसमेतका आधारमा जहाजका इन्जिन, पार्टपुर्जा मर्मतको सूची र कार्यतालिका अगाडि नै गर्नुपर्ने हुन्छ।
निगमको आर्थिक विनियमावली २०६५ को परिच्छेद २४ मा इन्जिन, पाटपुर्जाको खरिद, ओभरहल र मर्मत गराउनेसम्बन्धी व्यवस्था छ।
“पहिले एयर बस ए-३२० को ओभरहलको समय बेवास्ता गरी हतार हतार टेन्डर प्रक्रिया अघि बढाइयो, जहाज लामो समय ग्राउन्डेड भएको थियो,” पुन भन्छन्, “त्यही भएर यसपटक समयमै प्रक्रिया थालिएको हो।”
एयर बस कम्पनी आफैँले पनि विमान मर्मत, सुधार र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसबाहेक लुफ्थान्सा टेक्निक, एसटी इन्जिनियरिङ, एएआई, सरफान एयर क्राफ्ट इन्जिनजस्ता कम्पनीले एयर बसको मर्मत गर्दै आएका छन्।
निगमले बोइङ-७५७ विमान विस्थापन गरी एयर बस कम्पनीका दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी विमान सञ्चालन गरिरहेको छ।