पूर्वाधार
प्रस्तावित सडकका लागि बिहार विधानसभामा ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ बराबरको बजेट प्रस्तुत
भारतको बिहार राज्य सरकारले झारखण्डस्थित बाबा वैद्यनाथधामलाई नेपालको पशुपतिनाथसँग जोड्ने तयारी गरेको छ। बिहार सरकारले पशुपतिनाथसँग वैद्यनाथधाम जोड्ने सडक निर्माणको प्रस्ताव गरेको हो। बाबा वैद्यनाथधाम झारखण्ड राज्यको देवघर जिल्लामा पर्छ।
बिहारका सडकमन्त्री दिलीपकुमार जैसवालले गत साता बिहार विधानसभामा आर्थिक वर्ष २०२६/२७ को बजेट प्रस्तुत गरेका थिए। त्यसमा चार लेनको एक्सप्रेस वे निर्माणको प्रस्ताव गरिएको छ। चार लेनको सो सडक २५० किलोमिटर लामो हुनेछ।
सडकमन्त्री जैसवालले उक्त सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्। त्यसमा पशुपतिनाथ र बाबाधाम जोड्ने सडक नेपालसँग सीमा जोडिएको बिहारको भीमनगर हुँदै झारखण्डको देवघरसम्म पुग्ने भनिएको छ। ‘पशुपतिनाथदेखि वैद्यनाथसम्म जाने रोड निर्माण भएपछि तपाईंहरूलाई कति आनन्द आउँछ? म भन्न सक्दिनँ।’ बजेट भाषणमा मन्त्री जैसवालले भनेका थिए।
वैद्यनाथधाम शिवको ज्योतिर्लिंग रहेका १२ स्थानमध्येको एक हो। ती सबै पवित्रस्थलको शिरमा पशुपतिनाथ रहेको विश्वास छ। पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव हुन्।
अहिले काठमाडौँबाट वैद्यनाथधाम पुग्न ६०० किलोमिटर लामो यात्रा गर्नुपर्ने हुन्छ। सडक यात्रा गर्दा पशुपतिनाथबाट वैद्यनाथधाम पुग्न १४ घन्टाभन्दा बढी लाग्छ। प्रत्येक वर्ष हजारौँको संख्यामा नेपालीहरू बाबाधाम दर्शनका लागि झारखण्ड जाने गरेका छन्। त्यसैगरी, भारतबाट पनि प्रत्येक वर्ष हजारौँको संख्यामा भारतीय नागरिक पशुपतिनाथ दर्शनका लागि आउँछन्।
बिहार सरकारले बनाउने घोषणा गरेको सडकले अन्तरदेशीय धार्मिक पर्यटनलाई अझै बढाउने भारतीय अधिकारीले अपेक्षा गरेका छन्। बिहारले बनाउने घोषणा गरेको सडक काठमाडौँबाट बिहारको सीमाक्षेत्र भीमनगर, सुपौल, मेधापुर, सहरसा, खगरिया, मुंगेर, बाँका हुँदै झारखण्ड जोडिनेछ। प्रस्तावित पशुपतिनाथ-वैद्यनाथधाम एक्सप्रेस वे रक्सौल-हल्दिया सडक र दरभंगा-अमास सडकसँग पनि जोडिनेछ।
बिहार राज्य सरकारले सडक निर्माणसम्बन्धी परियोजनाको सम्बन्धमा भारतको केन्द्रीय सरकारलाई प्रस्ताव गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि रामायण सर्किट र बौद्ध सर्किट निर्माण गर्ने सम्बन्धमा २०७५ सालमै सहमति भएको थियो। तर, त्यसमा ठोस प्रगति भएको छैन।