समाज
प्रहरीको मनोबल खस्किएका बेला सक्रिय छन् तस्कर
२६ माघ, बिहान ९ बजे। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरमा भारतबाट ठूलो परिमाणमा भन्सार छलीको सामान भित्रिएको गोप्य सूचना भन्सार प्रशासनमा पुग्यो। सूचनासँगै सशस्त्रका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा भन्सार सुरक्षा प्रहरीको २० जनाको टोली भारतको सीमाबाट करिब डेढ किलोमिटर दूरीमा रहेको आदर्शनगर हान्नियो।
टोली आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घर पुग्यो, जहाँ बबिता इन्टरप्राइजेज कपडा पसल सञ्चालनमा थियो। पसल सञ्चालक थिए- प्रमोदकुमार कानु।
भन्सार र प्रहरीले पसल जाँच गर्न खोज्दा सुरुमा गुप्ता र कानु दुवैले असहयोग गरे। “बोलाएको १५-२० मिनेटपछि बल्लतल्ल आएर सटर खोल्न राजी भएका थिए,” सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक मोहन क्षेत्री भन्छन्।
सटर खुल्दा कानु सँगै थिए। पसलमा साडी र कुर्ता थिए। भन्सार कर्मचारी र सशस्त्र प्रहरीले बिलबिजक जाँच गरे। बिलबिजकअनुसार कपडा नभएपछि टोलीले सामान उठाउन थाल्यो। सामान १२ लाख ७५ हजार रुपैयाँ बराबरको थियो। “त्यतिन्जेल बाहिर ३०-४० जना भेला भइसकेका थिए,” प्रहरी उपरीक्षक क्षेत्री भन्छन्।
प्रहरीका अनुसार आदर्शनगर गैरकानुनी ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ मानिँदै आएको छ। यहाँ भारतबाट भन्सार छलेर सामान ल्याउने र नेपालमा बेच्ने गिरोह लामो समयदेखि सक्रिय छ।
सशस्त्र प्रहरीको ट्रक जसै सामान लिएर अघि बढ्यो, ती मानिसले गाडी र प्रहरीलाई ढुंगामुढा गर्न थाले। “अलिकति अघि बढेका के थियौँ, एकाएक आक्रमण हुन थाल्यो,” क्षेत्री भन्छन्, “तीन जना प्रहरी घाइते नै भए।”
प्रहरीका अनुसार अहिलेसम्म उक्त घटनामा पसल सञ्चालक कानुसहित आठ जना पक्राउ परेका छन्। घटनाका योजनाकार भनिएका घर मालिक गुप्ता भने फरार छन्। जम्मा २१ जनाविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको छ।
अहिले सात जनालाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। एक जनालाई बोलाएको बखत उपस्थित हुने सर्तमा छोडिएको छ। “जम्मा २१ जनाविरुद्ध अनुसन्धान भइरहेको छ, धेरैजसो फरार छन्,” पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत भन्छन्।
गैरकानुनी गतिविधि नियन्त्रणका क्रममा जोखिम हुन सक्ने भएकाले भन्सार कर्मचारीले प्रहरीलाई समेत सँगै लिएर जाने गरेका छन्। भन्सार चोरी निकासी नियन्त्रणका लागि सीमामा सशस्त्र प्रहरीका डीएसपीकै नेतृत्वमा टोली खटाइएको हुन्छ।
प्रहरीका अनुसार आदर्शनगर गैरकानुनी ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ मानिँदै आएको छ। यहाँ भारतबाट भन्सार छलेर सामान ल्याउने र नेपालमा बेच्ने गिरोह लामो समयदेखि सक्रिय छ। गुप्ता तिनैमध्येका एक हुन्। प्रहरीका अनुसार उनले सामान ल्याएर बबिता इन्टरप्राइजेजमा राख्ने र क्यारिङ गरी नेपाल पठाउने गर्दथे। “विशेषगरी महिलाहरूलाई एकदुई जोर कपडा बोकाएर वीरगन्जका पसलमा ल्याएर बेच्ने गरेको सूचना हामीसँग थियो,” एसपी खत्री भन्छन्, “सीमा क्षेत्रको गैरकानुनी ओसारपसार नियन्त्रण गर्न खोज्दा आक्रमण भएको थियो।”
प्रहरी र भन्सार कर्मचारीले आदर्शनगरबाट पहिले पनि भन्सार छलीको सामान बरामद गरेका थिए। तर, यस्तो घटना भएको थिएन। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट भन्छन्, “कहिलेकाहीँ सामान बरामद गरी ल्याइन्थ्यो, त्यस दिन व्यापारीले हुलदंगा गराए।”
गैरकानुनी गतिविधि नियन्त्रणका क्रममा जोखिम हुन सक्ने भएकाले भन्सार कर्मचारीले प्रहरीलाई समेत सँगै लिएर जाने गरेका छन्। भन्सार चोरी निकासी नियन्त्रणका लागि सीमामा सशस्त्र प्रहरीका डीएसपीकै नेतृत्वमा टोली खटाइएको हुन्छ। टोलीले आवश्यक परे नेपाल प्रहरीसमेतको सहयोग लिन सक्छ।
तस्करले प्रहरीविरुद्ध नै सांघातिक आक्रमण गर्नुलाई गम्भीर सुरक्षा कमजोरीका रूपमा लिनुपर्ने देखिन्छ।
घटनापछि सीमा ओसारपसारमा थप तनाव बढ्न सक्ने आकलन गरेर सशस्त्र प्रहरी र जनपद प्रहरीले आदर्शनगरलगायत सीमाक्षेत्रका नाकाहरूमा सुरक्षा कडा बनाएका छन्। “संगठित तस्करी गर्ने समूहहरूको गतिविधि बुझेर गस्ती बढाउने, सम्भावित क्षेत्रमा प्रहरी खटाएका छौँ,” पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी भन्छन्।
तस्करले प्रहरीविरुद्ध नै सांघातिक आक्रमण गर्नुलाई गम्भीर सुरक्षा कमजोरीका रूपमा लिनुपर्ने देखिन्छ। “सीमानजिकको एउटा सटरबाट सुरु भएको यस घटनाले सीमामा कानुन बलियो छ कि तस्कर प्रश्न उठेको छ,” पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल भन्छन्, “अहिले प्रहरीको मनोबल खस्किएको बेला यस्ता समूह सक्रिय भएको देखिन्छ।” आफू पर्सा प्रहरी प्रमुख भएका बेलासमेत मदनप्रसाद गुप्ताले भारतबाट रासायनिक मल तस्करी गर्ने गरेको तर प्रहरीले निस्तेज पारेको उनको दाबी छ।
विशेषगरी निर्वाचनको समयमा गैरकानुनी ओसारपसार बढ्ने बताउँदै खरेल यस्ता घटनामा प्रहरीको समेत कमजोरी हुन सक्ने तर्क गर्छन्। “चुनावका बेला सीमामा व्यापक तस्करी भइरहेको हुन्छ। भ्रष्ट प्रहरीले फाइदा लिइरहेका हुन्छन्। अन्यथा यस्तो समूहले हात हाल्ने हिम्मत गर्दैन,” उनी भन्छन्, “तस्करीको सामान गोदाममा देखिनु भनेकै प्रहरीको निष्क्रियता हो।”
सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक मोहन क्षेत्री भने घटनामा सशस्त्र प्रहरीको कमजोरी अस्वीकार गर्छन्। “सामानलाई मुचुल्का गरेर गाडीमा लोड गरेर फर्कने क्रममा घटना भएको हो। दोषीलाई कारबाही पनि भइरहेको छ। यस्ता घटना हुन नदिन प्रहरी प्रतिबद्ध छ,” क्षेत्री भन्छन्, “यदाकदाका घटनालाई लिएर प्रहरीलाई दोष दिनु गलत हो।”