काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन

निर्वाचन कार्यालयबाट पठाइएको नामावलीका आधारमा अस्थायी मतदाताका रूपमा मत हालिरहेका कर्मचारी

२१ फाल्गुन २०८२
तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। गृहजिल्ला अछाम जान नपाएका दक्षिणकाली नगरपालिका-२ का वडासचिव मिनबहादुर विष्टले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा रहेको मतदान केन्द्रबाट मत खसाले। निर्वाचनमा नखटिए पनि उनले अस्थायी मतदाताका रूपमा समानुपातिकतर्फ मत दिन पाए। यसरी गृहजिल्ला बाहिर रहेर मतदान गरेको उनको पहिलो अनुभव हो।

पर्वतका मतदाता श्रम मन्त्रालयका उपसचिव जनकराज शर्माले पनि पहिलो पटक समानुपातिकमा मत दिए। कर्मचारी जहाँ भए पनि मत दिन पाउनुलाई उनले सकारात्मक मानेका छन्। उनीसँगै काठमाडौँ महानगरपालिकाका अधिकृत कमानसिंह खड्काले पनि सोही केन्द्रबाट मत खसालेका छन्। उनको स्थायी मतदान केन्द्र भने अछामको कमलबजार नगरपालिका हो।

निर्वाचन आयोगले गृहजिल्ला जान नपाएका सरकारी कर्मचारीका लागि आफू रहेकै ठाउँमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने व्यवस्था गरेअनुसार उनीहरूले मत खसालेका हुन्। दुई महिनाअघि जिल्ला निर्वाचन कार्यालयले सरकारी कार्यालयसँग मतदान गर्ने कर्मचारीहरूको विवरण अद्यावधिक गराउन भन्दै विवरण मागेको थियो। त्यसअनुसार सम्बन्धित कार्यालयले मतदान गर्नेहरूको मतदाता नम्बरसहितको विवरण पठाउनुपर्छ। त्यसका आधारमा मुख्य निर्वाचन अधिकृतले अनुमति दिएर नामावली पठाइएपछि कर्मचारीले समानुपातिकमा मतदान गर्न पाउने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालयबाट नामावली नपठाइएकै कारण कतिपय कर्मचारीहरूले मत हाल्न पाएका छैनन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा रहेको मतदान केन्द्र पुगेका ३० जना बढी कर्मचारी नामावली नहुँदा फर्कनुपरेको छ। मतदान केन्द्रका प्रतिनिधि नवीन उपाध्यायले बिहान १० बजेसम्म ३० भन्दा बढी कर्मचारी नामावलीमा नाम नभएका कारण फर्केको बताए। “नामावली नभएका कारण धेरैजना फर्किसक्नुभएको छ,” उनले भने। त्यस केन्द्रमा सात हजार ६८७ जना अस्थायी मतदाता छन्।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले धेरै कर्मचारीको नाम छुटेको बताए। “छुटेको भन्ने जानकारी आएको छ। सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट नामावली नआउँदा यस्तो भएको हो,” उनले भने। पहिले नै सहजीकरण गर्नुपर्ने विषय भएकाले अहिले जति जनाको नाम छ, त्यतिले मात्रै मत दिन पाउने उनले बताए।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले आफ्नो जिल्ला जान नपाएका कर्मचारीका लागि देशभर नै अस्थायी मतदान केन्द्रको व्यवस्था रहेको बताए। उनका अनुसार निर्वाचन आयोगमा देशभरबाट एक लाख ८६ हजार कर्मचारीको नामावली संकलन भएको छ। ती कर्मचारीका लागि देशभर १४३ अस्थायी मतदान केन्द्र तोकिएका छन्। “सम्बन्धित निर्वाचन कार्यालयले नाम सूची पहिले नै रुजु गर्नुपर्ने थियो। मतदाता कर्मचारीले पनि अघिल्लो दिनमै हेरेर जानुपर्थ्यो,” उनले भने।

काठमाडौँका ६ स्थानमा अस्थायी मतदान केन्द्र तोकिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँ (क) र (ख), भद्रकाली मन्दिर परिसर, सशस्त्र प्रहरी बल हल्चोक, केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार सदरखोरमा केन्द्र तोकिएको हो।

मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ मा अस्थायी मतदाताको व्यवस्था गरिएको थियो। ऐनको आधारमा निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ जारी गरेको थियो। १७ मंसिरमा जारी भएको कार्यविधिमा सरकारका संघ, प्रदेश, स्थानीय तहमा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी, निर्वाचनमा खटिएका कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीले यथास्थानमै मतदान गर्न पाउने व्यवस्था उल्लेख छ।