नाइट रनको यो दोस्रो संस्करण हो
बाँके। नेपालको एक मात्र रात्रि दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधा समेत समावेश गरिएको छ। विश्व दौडको साझा संस्था एसोशिएशन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो।
एम्सद्वारा यसअघि नै प्रमाणीकरण रूटमै रात्रि दौड समेत सञ्चालन हुनेछ। असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै शुरू हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कूलस्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्षमाथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ।
“नेपालगन्जलाई दौडको शहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं, दौडिरहने शहरको परिचयले पनि शहरको ब्रान्डिङमा सघाउनेछ।”
मिक्स रिले नेपालमा पहिलो पटक प्रयोग गर्न लागिएको हो। यसमा स्कूल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए। “१० किलोमिटरलाई समान चार दूरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दूरी पूरा गर्नुपर्ने हुन्छ”, रेस डाइरेक्टर गुरुङले भने, “यो दौडले रोमाञ्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ।”
पहिलो पटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दूत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए। “नेपालको पुरानो शहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं”, संस्थापक ठकुरीले भने, “नेपालगन्जलाई दौडको शहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं, दौडिरहने शहरको परिचयले पनि शहरको ब्रान्डिङमा सघाउनेछ।”
नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो। यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ। नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि शुरू भई राँझा चोक पुगेर पुनः सोही रूटबाट बीपी चोकमै पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ।
नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सञ्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ। एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सरप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताए।