काठमाडौं। केही दिनयता फैलिएको हैजाले वीरगन्जमा एकै दिन ९६ जना बिरामी अस्पताल भर्ना भएका छन्। वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार मात्रै नयाँ बिरामी ९६ जना थपिएका हुन्।
वीरगन्ज महानगरपालिका-११, १२ र १३ नम्बरमा फैलिएको हैजा प्रकोपका कारण बिरामी हुनेको संख्या बढ्दै गएको हो। वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार तीन दिनयता हैजा फैलिएको हो। हालसम्म उक्त प्रकोपबाट ३४४ जना बिरामी अस्पताल भर्ना भएका छन्।
तीमध्ये १७८ जना उपचारपछि घर फर्किएका छन्। अहिले १६६ जना बिरामी अस्पतालमा छन्। २७ जनाको आइसियू, १२२ जना वार्डमा र ६ जना एचडिसियूमा उपचार भइरहेको साहले बताए।
उपचाररत् बिरामीहरूको नारायणी, नेशनल मेडिकल कलेज, एड्भान्स, तेराल, नेपाल मेडिसिटटी बयोधा, वीरगन्ज हेल्थ केयर अस्पताल, प्रभु अस्पताल, नीलकण्ठ अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमुद ठाकुरका अनुसार हैजा नियन्त्रणका लागि आवश्यक जनचेतना फैलाउने काम भइरहेको छ। “संक्रमित क्षेत्रमा चिकित्सकहरूको टोली पठाइएको छ, हैजा फैलिने क्षेत्रमा सतर्कता अपनाउने काम भइरहेको छ,” उनले भने। पानीको स्रोतमा हैजाको जीवाणु मिसिएर हैजा फैलिएको आशंका गरिएको छ।
हैजा फैलिन नदिन नेपाल प्रहरीले समेत जनचेतना फैलाइरहेको छ। “सबै वडामा माइकिङ गरी दूषित खानेकुरा नखान, पानी उमालेर मात्रै खान जनचेतना फैलाउने काम भइरहेको छ,” पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले भने।