काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब उज्बेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ।
उज्बेकिस्तानको क्वार्सीमा गएराति भएको समूह ‘बी’ को खेलमा एपीएफले पीएफसी नासाफसँग ३–० गोल अन्तरले हार बेहोरेको हो। गत संस्करणमा पनि एपीएफले नासाफसँग हार व्यहोरेको थियो।
एपीएफकी कप्तान अनिता बस्नेत नेतृत्वमा रहेको टोलीले समूह चरणको दोस्रो खेल भदौ १२ गते बिहीबार थाइल्यान्डको एशिया स्कलर्ससँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल भदौ १५ गते आइतवार साउदी अरबको अल नासरसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफ यसअघि एन्फा महिला लिगको विजेता रहिसकेको छ।
प्रतियोगितामा कुल १९ टोली सहभागी छन्, जसलाई ५ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को चरणमा स्थान बनाउनेछ।