काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
जलेको अवस्थामा फेला परेका आरोपी लक्ष्मण पासवान र मृतक रुबी साह।
अ+
अ-

काठमाडौं। रौतहट माधवनारायण नगरपालिका-६ की २६ वर्षीया रुबी साहको हत्या आरोपमा पक्राउ परेका २७ वर्षीय लक्ष्मण साह उनका पूर्वप्रेमी रहेको आशंका प्रहरीले गरेको छ। गत शनिबार राति गौर नगरपालिका-९ स्थित गौर–सिर्सिया सडकखण्डको मुडवलबा सडकनजिकै सुटकेसभित्र रुबीको शव फेला परेको थियो।

रुबीका पतिको घर भारत बिहार हो। प्रहरीका अनुसार सात वर्षअघि उनको बिहार मुजफ्फरपुरका शिवकुमार साहसँग बिहे भएको थियो। रुबीका एक छोरा थिए। छोरालाई पढाउन उनी रौतहटको गौर नगरपालिका-२ मा डेरा गरी बस्दै आएकी थिइन्। छोरालाई पढाउन रुबी बिहार-रौतहट आइरहन्थिन्। छोराको हेरचाह भने रुबीकी आमा सुनिच्छा देवीले गर्थिन्।

“उनी तीन वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ,” रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की भन्छन्।

बुधबार बिहान जलेको अवस्थामा फेला परेका २७ वर्षीय लक्ष्मण पासवानसमेत माधवनारायण नगरपालिका-६ कै हुन्। उनै रुबी हत्याका मुख्य आरोपी रहेको कार्की बताउँछन्। अहिलेको प्रारम्भिक अनुसन्धानमा उनीहरू पहिले प्रेम सम्बन्धमा रहेको कार्की बताउँछन्।

पासवानले आफ्नो शरीरमा आगो लगाउनुअघि भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए। उक्त भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेको डीएसपी कार्कीले बताए। उनले रुवीसँगको प्रेम सम्बन्धबारे पनि भिडियोमा खुलाएका छन्। उनले हत्याअघि रुबी ब्युटी पार्लरबाट आफ्नो कोठामा आएको पनि बताएका छन्।

कोठामा आउँदा एक-अर्काबिना बाँच्न नसक्ने संवाद भएको पासवानले बताए पनि कोठाको स्थान भने खुलाएका छैनन्। उक्त कोठा गौर नगरपालिका-५ को बाल मन्दिरपछाडिको एउटा घर भएको आशंका प्रहरीको छ।

भिडियोमा उनले स्कुल पढ्दादेखि आफूहरूबीच प्रेम सम्बन्ध रहेको दाबी गरेका छन्। उनले अदालतमा गएर बिहे गरेको समेत दाबी गरेका छन्।

हत्यापछि सुटकेशमा शव लिएर पासवान अटो रिक्सामा निस्किएका थिए। बाटोमा अटो रिक्सा बिग्रिएपछि सुटकेश बाटोमै छोडेर पासवान भागेको प्रहरीको भनाइ छ। “त्यो सुटकेस उनले मलेसियाबाटै ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,” कार्की भन्छन्, “घटना पासवान एक्लैले गराए वा अन्य व्यक्तिहरू पनि थिए भन्ने स्पष्ट खुलेको छैन।”

पासवान शरीरमा आगो लागी जलेको अवस्थामा बुधबार बिहान ७ बजे फेला परेका थिए। पासवानलाई उपचारको लागि काठमाडौं कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ। पासवान वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए। उनी अगस्ट पहिलो साता नेपाल आएको खुलेको छ।