काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ ।
आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेका शर्माको बिदाइ गरेको हो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको चर्चा गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको मन्तव्य व्यक्त गरेको थियो ।
सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुनु भई प्रहरी सेवामा प्रवेश गरेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेरहदका कारण यही भदौ १५ गतेबाट सेवानिवृत्त हुन लागेको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।