काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। इङ्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२ ले पराजित गर्दै सिजनको पहिलो जित हात पारेको छ।

खेलको २७औँ मिनेटमा बर्नलीका कुलेनको आत्मघाती गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। तर दोस्रो हाफमा बर्नलीले खेलमा फर्कँदै ५५औँ मिनेटमा लाइन फोस्टरको गोलमार्फत बराबरी गर्‍यो।

दुई मिनेटपछि, ५७औँ मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। तर ६६औँ मिनेटमा बर्नलीका जैडन एन्थोनीले गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए।

निर्धारित ९० मिनेट सकिएपछि थपिएको समयमा, कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए।

उक्त रातको अर्को खेलमा चेल्सीले फुलहामलाई २–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि जोआओ पेड्रो र इन्जो फर्नान्डेजले गोल गरे। लगातार अपराजित रहेको चेल्सी ७ अंकसहित तालिकाको पहिलो स्थानमा पुगेको छ।

अन्य खेलहरूमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले, एभर्टनले वुल्भ्सलाई ३–२ ले पराजित गरे। वर्नमाउथले टोटनह्याममाथि १–० को जित निकाल्दा लिड्स र न्यु क्यासलबीचको खेल गोलरहित बराबरीमा सकियो।