काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। गरिब नेपालीलाई भारतमा लगेर मिर्गौला झिकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन ब्युरोको प्रहरी टोलीले भारत पुगेर मिर्गौला तस्करीमा संलग्न मुख्य एजेन्टसहितलाई शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका-२ का २९ वर्षीय सुजन भारती रहेका छन्।

यसअघि राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राज कुमार नेपालीलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो। उनीहरूको बयानका आधारमा प्रहरी भारत पुगेको थियो।

दुवै जनालाई प्रहरीले नेपाल ल्याएको छ। ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले मिर्गौला झिक्ने कार्यमा संलग्न दुई जना पक्राउ गरिएको बताए। तर, उनले कञ्चनपुर क्षेत्रबाट ती व्यक्ति पक्राउ परेको दाबी गरे।
“भण्डारी समूहको अनुसन्धान तथा खोजी कार्य गर्दै गरेको बेला ब्युरोको टोलीले कञ्चनपुर प्रहरीको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो,” पंगेनीले भने।

पंगेनीका अनुसार भण्डारी मिर्गौला झिक्ने गिरोहका मुख्य नाइके रहेको खुलेको छ। उनले नयाँदिल्लीको लाजपत नगरमा बसेर मिर्गौला कारोबारको सञ्जाल खडा गरेको पंगेनीले बताए।

भण्डारी समूहले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाहरूबाट मानिसहरू भारत पुर्‍याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एउटा मिर्गौला दिँदैमा मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै भण्डारी समूहले पीडितलाई फकाएर भारत लैजाने गरेका थिए। उनीहरूले एउटा मिर्गौला दिएबापत ६ लाख रुपैयाँको लोभ देखाउँथे। “उनीहरूले संगठित रूपमा टिम नै परिचालन गरी मानिसहरूलाई प्रलोभन देखाउने र मिर्गौला दिने मानिस खोजेबापत प्रतिव्यक्ति ५० हजार दिने गरेको पाइएको छ,” पंगेनीले भने।

मिर्गौला दिन तयार हुने मानिसहरूलाई नेपालबाट नयाँदिल्लीसम्म गाडीमा लैजाने र मिर्गौला दिएपछि नेपाल पुर्‍याइदिने व्यवस्थापनसमेत भण्डारी समूहले गर्थ्यो। “नेपालबाट जाने व्यक्तिलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा राख्ने र खाने-बस्ने व्यवस्था मिलाएको अनुसन्धानले देखाएको छ,” पंगेनीले भने।

पीडितलाई नयाँदिल्ली पुर्‍याएपछि त्यहाँका अस्पताल, क्लिनिकमा कार्यरत एजेन्ट, अस्पतालका कर्मचारी र डाक्टरहरूसँग समन्वय भण्डारी आफैं गर्थे। पंगेनीका अनुसार मिर्गौला दिन तयार हुने मानिसलाई होटलबाट निकालेपछि आँखामा पट्टी लगाइन्थ्यो। गाडीमा राखेर अज्ञातस्थलमा लगेपछि इञ्जेक्सन दिएर बेहोस बनाइन्थ्यो। बेहोस बनाएपछि मिर्गौला झिक्ने र तीन-चार दिन अस्पतालमा राखेपछि गाडीमा नेपाल फर्काउने गरिन्थ्यो। “मिर्गौला दिने मानिसले ६ लाख नेपाली प्राप्त गर्ने भनी प्रलोभन दिए पनि भण्डारीको समूहले उक्त रकम समेत नदिएको पीडितले बताएका छन्,” पंगेनीले भने।

भण्डारी समूहले हालसम्म २५ जना व्यक्तिको मिर्गौला झिक्न लगाई पैसा लिएको खुलासा गरेका छन्। यो संख्या बढी रहने अनुमान प्रहरीको छ।

पक्राउ परेका भारती भने नयाँदिल्लीमा भण्डारीसँग बसेर सहयोगीको रूपमा काम गरिरहेका थिए। उनले सुरुमा आफ्नै मिर्गौला बेचेका थिए। उनी नेपालबाट मिर्गौला दिन जानेहरूलाई होटलमा व्यवस्थापन, रेखदेख र खानपिनमा संलग्न हुन्थे। उनी आफैं मिर्गौला दिने मानिसको खोजी गर्थे।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान थालिएको छ। उक्त कानुन अनुसार मानिसको कुनै अङ्ग झिक्नेलाई दस वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।