काठमाडौं। प्रमुख ८ राजनीतिक दलहरूले संयुक्त रूपमा संसद विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा प्रतिनिधि सभा विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
शनिबार जारी विज्ञप्तिमा दलहरूले प्रतिनिधि सभा विघटनलाई संविधानमाथि प्रहार भएको भन्दै जननिर्वाचित संस्था प्रति अवमानना भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभालाई विघटन गर्नु नेपालको संविधानको धारा ७६ (७), सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्पराविपरीत छ। यसले जनताको मताधिकार कमजोर पार्ने र संवैधानिक सर्वोच्चतामा चोट पुर्याउँछ।”
दलहरूले संसदको बैठक तत्काल बोलाएर जनता र आन्दोलनरत समूहको माग प्रतिनिधि संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न जोडदार आग्रह गरेका छन्।
यसअघि शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।
