काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

सिन्धुलीगढी घुमेर हेर्दा सिन्धुलीगढीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई देशव्यापी रूपमा चिनाउने गीत हो। कृष्णविक्रम थापाको स्वर, शब्द र संगीत रहेको यो कालजयी गीतले ४६ वर्षपछि नयाँ स्वरूपमा पुनर्जन्म पाएको छ। गीत सर्जक थापाका जेठा छोरा राजु थापाको स्वरमा म्युजिक नेपालमार्फत युट्युबमा सार्वजनिक भएको हो। रिमेक भिडियोमा सिन्धुलीका प्राकृतिक सौन्दर्य दृश्य, गढी, दरबार र कृष्णविक्रमको सालिकलगायत दृश्य समेटिएका छन्।

सिन्धुलीगढी घुमेर हेर्दा २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। रेडियो नेपालको गीत प्रतियोगितामा यसले पहिलो पुरस्कार जित्न सफल भएको थियो। सिन्धुलीगढी वीर गोर्खालीहरूले १८२४ सालमा अङ्ग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल हो, यो गीतमार्फत यस ठाउँको नाम जनजिब्रोमा झुन्डिएको थियो।

गीतले सिन्धुलीगढीको ऐतिहासिक महत्त्व मात्र होइन, त्यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई पनि उजागर गर्छ। गीतको बोलले सिन्धुलीगढीको रमणीय दृश्य, सिन्धुलीगढी दरबार र त्यहाँको वातावरणलाई जीवन्त बनाउँछ। सिन्धुलीगढी, जहाँ गोर्खाली सेनाले वंशु गुरुङको नेतृत्वमा अङ्ग्रेज कप्तान किनलकको फौजलाई बुद्धि र रणनीतिले हराएको थियो, यो गीतले नेपाली वीरताको कथा बोकेको छ।

सिन्धुलीको दुर्गम गाउँमा जन्मिएका कृष्णविक्रम थापा रेडियो नेपालसम्म पुगेर यो कालजयी गीत रेकर्ड गर्न सफल भएका थिए। तर, उनको पारिवारिक जीवन सङ्घर्षमय थियो। परिवार पाल्न ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्थाले छोरा राजुले जीवन धान्न कहिले नेपालभित्र त कहिले भारतमा मजदुरी गरे। सङ्गीतमा औपचारिक शिक्षा वा अनुभव नभए पनि उनले बाबुको साङ्गीतिक बिरासत जोगाउने सपना देखे।

कृष्णविक्रमका सातै डाँडा काटेर, शहरकी चेली गाउँघरमा आइछन्, साँघुटार बजारकी साइँली र माइली, चौतारी छाया बसौँ बसौँ लाग्छ, तोरी लाहुरे जस्ता गीत र खैँजडी भजन रेडियो नेपालमा रेकर्ड भएका थिए, र अधिकांश चर्चित छन्। यी गीतले नेपाली लोकसङ्गीतको समृद्ध इतिहास बोकेका छन्। तर, समयसँगै यी गीत हराउने जोखिममा थिए। राजुले यी गीतहरूको संरक्षण गर्ने अठोट लिए।

२०८१ माघ १ मा सिन्धुलीमाढीमा ब्रदरहुड इभेन्ट्सले आयोजना गरेको कन्सर्टबाट राजुको साङ्गीतिक यात्रा सुरु भयो। त्यही कन्सर्टमा बाबुको गीत गाएका दर्शकहरूको हुटिङ र उत्साहले आफूलाई हौसला प्रदान गरेको राजुले बताए। त्यसअघि ‘कृष्णविक्रमको छोरा’ भनेर मात्र चिनिएका राजुले यसपछि आफ्नो छुट्टै पहिचान बनाउने सपना देखे। उनी बाबुका गीतहरू खोज्न रेडियो नेपाल पुगे, जहाँ उनले म्युजिक नेपालले ‘सिन्धुलीगढी घुमेर हेर्दा’ को प्रतिलिपि अधिकार लिएको थाहा पाए। त्यसपछि म्युजिक नेपालसँगको सहकार्यमा राजुले यो गीत रिमेक गरे।

सङ्गीतको औपचारिक शिक्षा नलिएका उनले भने, “एउटा गीत गाउन घन्टौँ लाग्छ भन्ने सुनेको थिएँ, तर मेरो रेकर्डिङ छिटै सकियो।” गीतलाई रुबिन श्रेष्ठले पुनः संयोजन गरेका हुन्।

गीतले सिन्धुलीगढीलाई चिनाएको छ, त्यसैले भिडियोले पनि त्यही ठाउँको सौन्दर्य र ऐतिहासिकता झल्काउनुपर्छ भन्ने राजुको मत थियो। सिन्धुली कलाघरका कलाकारहरू र म्युजिक भिडियोका कलाकारहरू रमेश विश्वकर्मा र दिप्सा कार्कीलगायत समेटिएको भिडियो क्रान्ति केसीको निर्देशन र बासु बरालको छायाङ्कनमा तयार भएको छ।

भिडियोले सिन्धुलीगढीको प्राकृतिक सौन्दर्य महाभारत डाँडा, तराईका फाँट र हिमालको रमणीय दृश्यलाई जीवन्त बनाउँछ। भिडियोमा समेटिएको कृष्णविक्रमको सालिकले उनको साङ्गीतिक योगदानलाई सम्मान गर्छ। कमलामाई नगरपालिकाले सिन्धुलीगढीमा स्थापना गरेको यो सालिक सर्जकप्रति सम्मानको प्रतीक हो।

सिन्धुलीगढी नेपालको वीरताको प्रतीक हो। १८२४ सालमा गोर्खाली सेनाले वंशु गुरुङको नेतृत्वमा अङ्ग्रेज फौजलाई परास्त गरेको य‍स ऐतिहासिक स्थलले २५० वर्षदेखि नेपाली गौरव बोकेको छ। अङ्ग्रेजहरूको हारको साक्षी बनेको यो स्थल सामरिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। गीतले सिन्धुलीगढीको वीरता र सौन्दर्यलाई एकपटक फेरि स्मरण गराउने राजुको विश्वास छ।

“यसअघि मलाई कृष्णविक्रमको छोरा भनेर चिनिन्थ्यो, तर अब बाबुको बिँडो थाम्न सकेँ भन्ने लाग्छ,” राजुले भावुक हुँदै भने। दर्शक र श्रोताहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका उनले बाबुका अन्य गीतहरू पनि रिमेक गर्ने योजना बनाएका छन्। सिन्धुली गढी घुमेर हेर्दाको रिमेकले ४६ वर्ष पुरानो कालजयी गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएको छ।