काठमाडौँ। प्याल्स्टिनी सशस्त्र समूह हमासको नियन्त्रणमा रहँदा मारिएका नेपाली नागरिक विपिन जोशीको शव नेपाल आइपुगेको छ। शव सोमबार दिउँसो २:३५ मा इजरायलबाट नेपाल आइपुगेको हो।
विपिनलाई प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले विपिनको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासलगायत उपस्थित थिए। उनीहरूले पनि विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

विपिनको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित घरमा पुर्याउने व्यवस्था मिलाइएको छ। इजरायलस्थित नेपाली राजदूतावासको समन्वयमा र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो।
७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि अपहृत भई गाजामा लगिएका नेपाली विद्यार्थी विपिन जोशीको निधनबारे इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा
जानकारी गराएको थियो। ७ अक्टोबरको आक्रमणमा अन्य १० जना नेपाली विद्यार्थीहरूको पनि निधन भएको थियो।