काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ कार्तिक २०८२
अ+
अ-

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ। वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमाभन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ।

करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यसपटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको छ। जाडो मौसम सुरु हुनासाथ यहाँको आकाश बाक्लो धुवाँले ढाकिने गरेको छ।

चिसो हावाले प्रदूषक तत्त्वहरूलाई जमिनको नजिक समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुँवा र सवारीसाधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ। यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण बढाएको जनाइको छ।

यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो। ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएका हुन्। तथापि विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको रिपोर्टहरू आएका छन्।

वायु प्रदूषण मापन संस्था आईक्यूएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर उत्पादन गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने एः २.५ स्तर २४८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो।

भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ। आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। साथै प्रदूषण नियन्त्रणका लागि विभिन्न आपत्कालीन उपायहरू कार्यान्वयनमा ल्याएको पनि जनाएको छ।

पहिलोपटक ‘क्लाउड सिडिङ’ गर्दै दिल्ली सरकार
यसैबीच दिल्ली सरकारले यस महिनाभित्रै पहिलोपटक विमानमार्फत ‘क्लाउड सिडिङ’ परीक्षण गर्ने तयारी गरेको छ। यस विधिमा बादलमा नुन वा अन्य रसायनहरू फायर गरी कृत्रिम वर्षा गराइन्छ, जसले हावामा रहेका प्रदूषक कणहरूलाई तान्ने र सफा गर्ने अपेक्षा गरिन्छ।

दिल्लीका वातावरणमन्त्री मञ्जिन्दर सिंह सिरसाले पत्रकारहरूलाई भने, “हामीले क्लाउड सिडिङका लागि आवश्यक सबै तयारी पूरा गरिसकेका छौँ। उडान परीक्षण र पाइलट प्रशिक्षण सम्पन्न भइसकेको छ, यसै महिनाभित्र प्रयोग सुरु हुनेछ।”

स्वास्थ्य विशेषज्ञहरूका अनुसार वायु प्रदूषण दिल्लीका बासिन्दाका लागि दीर्घकालीन स्वास्थ्य जोखिम बन्दै गएको छ। द ल्यान्सेट प्लानेटरी हेल्थमा सन् २०२३ मा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण करिब ३८ लाख मानिसले ज्यान गुमाएका थिए।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले समेत चेतावनी दिँदै प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पारिरहेको बताएको छ।