काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

दाहालका घरबेटीले अलपत्र पारेका काठमाडौंका चार ठेक्का तोड्दै सडक डिभिजन

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौंले समयमा काम नगर्ने ५७ ठेकेदार कम्पनीको ठेक्का खोस्ने निर्णय गरेको छ। कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार ती निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो।

उक्त प्रक्रियाका लागि कार्यालयले मंगलबार एक सूचना जारी गरेको छ। सूचनामा उल्लेख भएका सबै कम्पनीसँग ठेक्का सम्झौता तोडिने देवकोटाले बताए।

देवकोटाका अनुसार उक्त सूचीमा आर्थिक वर्ष २०६६/६७ सालदेखिका पुराना ठेक्का छन्। “समयमा काम नगर्ने, लिखित र मौखिक रूपमा ताकेता गर्दासमेत बेवास्ता गर्ने कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ,” देवकोटाले नेपालन्युजसँग भने।

ठेक्का तोड्ने सूचीमा समावेश भएकामा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कम्पनी पनि छ। देवकोटाका अनुसार शैलुङले काठमाडौंका चार ठाउँमा ठेक्का लिएको थियो। “ती कुनै पनि समयमा पूरा नभएको, ताकेता गर्दा बेवास्ता गरी अलपत्र पारेको देखियो,” देवकोटाले भने।

यसैगरी, समयमा काम नगर्ने ठेकेदारको सूचीमा पप्पु कन्स्ट्रक्सनसमेत छ। पप्पु समयमा काम नगरेर भ्रष्टाचार मुद्दा खेपिरहेको कम्पनी हो।

यसैगरी, पूर्ण विनायक, कश्यप निर्माण, पिविएसटी, सिएम, बेबो, त्रिवेणी, सूर्य जीवन, निश्मन, लुम्बिनी/पिएस/ गोल्डेन, डाँफे, नयाँयुग, केदार, जय दुर्गामाता लगायत छन्।

यसैगरी, राजधानी, बिरुवा, कागेश्वरी, पन्थ, गोरखा एप्रोप्रिएट, बिएसडी, गौरी पार्वती, देशप्रेम, जालपालगायत कम्पनी रहेका छन्। “यी सबैको ठेक्का तोडेर नयाँ सम्झौताको प्रक्रिया थालिन्छ,” देवकोटाले भने।

सार्वजनिक खरिद ऐन २०६२ तथा नियमावली २०६४ अनुसार समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई १० प्रतिशत जरिवाना तिराएर काम सक्न समय दिइन्छ। उक्त समयमा समेत काम नसके सम्झौता रद्धको प्रक्रियामा गइन्छ।

“ती कम्पनीलाई सम्झौता नतोड्नुपर्ने कारण के हो भनी पेश गर्न १५ दिनको सूचना दिएका छौं,” देवकोटाले भने।