काठमाडौं। जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातिको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ। चक्रवात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बुधबार विज्ञप्ति जारी गर्दै बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण भोलि (बिहीबार) साँझ ७ बजेबाट शुक्रबार बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए।
जल तथा मौसम विभागले कात्तिक १३ देखि १५ गते शनिबार बिहानसम्म कोसी प्रदेशको इलामलगायत देशका धेरै भू-भागमा मौसम प्रभावित हुने देखिएको अनुमान आएको भन्दै राजमार्ग बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।
