काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा दिन माग गर्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरुले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। जसअनुसार बुधबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा २ घण्टा ठप्प पारेको छ।

संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्स आन्दोलनमा उत्रिएका हुन्।

देशभरका नर्सले आ-आफ्ना संस्थाको प्रांगणमा भेला भएर बिहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका थिए। उनीहरुले सरकारीसरह पारिश्रमिक पाउनुपर्ने मागसहित नर्सिङ पेसाको हकहितका १५ बुँदे माग सरकारसमक्ष पेस गर्दै आन्दोलन थालेका हुन्।

उनीहरुले दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकका रुपमा नभई दक्ष जनशक्तिका रुपमा स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त सेवाबापत छुट्टै पारिश्रमिक, आवश्यकता र मापदण्डअनुसारको दरबन्दी, शैक्षिक योग्यता र कार्यअनुभवका आधारमा नियमित स्तरवृद्धि र बढुवा, सामुदायिक तथा निजी विद्यालयहरुमा नर्सको दरबन्दी सिर्जना, ज्यालादारीमा काम लगाउन नपाइने व्यवस्था कडाइका साथ लागु गर्नुपर्ने, सम्पूर्ण दरबन्दी स्थायी विज्ञापनमार्फत पदपूर्ति गर्नुपर्ने, नीति निर्माणमा समान सहभागिता र पहुँच हुनुपर्ने, योग्यताअनुसार विशिष्टीकृत सेवाप्रवाहको व्यवस्था गर्नुपर्ने, कार्यस्थलमा हुने जोखिम वा दुर्घटनाको उचित क्षतिपूर्ति दिइनुपर्नेलगायत माग उनीहरुले प्रस्तुत गरेका छन्।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारीसरह नघट्ने गरी लागु गर्न आग्रह गरेको छ। नर्सहरूले भने सरकारले यसअघि समेत यस्तै आग्रह गरिसकेको भन्दै त्यसलाई निजी अस्पताल तथा शिक्षण संस्थाहरूले कार्यान्वयन नगरेकाले अबको आन्दोलन समान पारिश्रमिकसहित सबै जायज माग कार्यान्वयन नभएसम्म नरोकिने बताउँछन्।