काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
भिजिट भिसासम्बन्धी भएको नयाँ व्यवस्थाको विषयमा अध्यागमन विभागमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं। अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार यसअघि जारी भएका भिजिट भिसासम्बन्धी सबै प्रावधान र मापदण्ड रद्द गरिएको हो।

नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जाने व्यक्तिसँग कम्तीमा ६ महिना अवधि बाँकी रहेको राहदानी चाहिनेछ। गन्तव्य देशको भिसा, गन्तव्यसम्मको हवाई टिकट, भ्रमणका लागि आवश्यक कागजात र भ्रमणबाट उत्पन्न हुने परिणामका लागि स्वयं जिम्मेवार हुने स्वघोषणा अनिवार्य चाहिनेछ।

यसअघि १० माघ २०८० मा अध्यागमनले ६ बुँदे मापदण्ड कार्यान्वयनमा ल्याएको थियो। अध्यागमन विभागको प्रस्तावमा सरकारले १३ कात्तिकमा मन्त्रीस्तरीय निर्णयबाट नयाँ मापदण्ड लागू गरेको थियो। शुक्रबार अध्यागमनले उक्त मापदण्ड कार्यान्वयनमा ल्याएको ढकाललले बताए।

“नयाँ व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरिएको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विभागले सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई नयाँ मापदण्डबारे सूचित गराउन निर्देशन दिएको छ। पुरानो मापदण्ड कार्यान्वयनमा हुँदा कागजात तयार पार्ने प्रक्रिया झन्झटिलो थियो। बिचौलियाहरूले कागजातका नाममा अत्यधिक रकम असुल्ने गुनासा बढेको थियो। पहिलो मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ र आफन्तकोमा बस्ने यात्रुका लागि तीनपुस्ते विवरणलगायत लागु गरिएको थियो।