१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले बढी धुवाँ फाल्ने सवारीसाधन नियन्णमा लिन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चेकिङका क्रममा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन थालेको हो।

यसक्रममा सोमबार ट्राफिक प्रहरीले ३७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जसमा १६ बस, पिकअप भ्यान १४, स्कुल बस चार, निजी कार दुई र भाडाको एउटा कार नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

नियन्त्रणमा लिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अवस्था ठिक नभएको सवारी साधन चलाउन नहुने कसुरमा कारबाही गरिने उनले बताए।

“त्यस्ता सवारीसाधन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा अवस्था ठिक नभएका साधन सञ्चालन गर्न नपाउने गरी कारबाही गरिने छ,” सुवेदीले भने। उपत्यकामा अवस्था ठिक नभएका सवारीसाधन चेकजाँचलाई तीव्र पारिने उनले बताए।