बिर्तामोड। एलभीडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपीएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ। त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी खेलको सुरुवातदेखि नै दुवै टोली आक्रमणमुखी शैलीमा उत्रिएका थिए। प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपीएफ दुवैले एक-अर्काको गोलपोस्टमा निरन्तर दबाब सिर्जना गरे। २६औँ मिनेटमा एपीएफकी सरु लिम्बूले डी-बक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो। त्यसपछि २९औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोलपोस्टमाथि गयो।
३९औँ मिनेटमा एपीएफकी कप्तान अनीता बस्नेतको कर्नरमा रश्मीकुमारी घिसिङको भली प्रहार आर्मीकी डिफेन्डरले रोकिन्। त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो।

दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो। ५८औँ मिनेटमा रश्मीकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन्। तर, ६३औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाइन्।
८१औँ मिनेटमा एपीएफकी कप्तान अनीता बस्नेतले दिएको क्रसमा रश्मीकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो। इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो। आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपीएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो। कप्तान अनीताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १-१ बराबरीमा पुग्यो।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो। टाइब्रेकरमा एपीएफका सबिता राना, अनीता बस्नेत, निशा थोकर र रश्मीकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन्।

आर्मीका विमला विक र अनीता लम्जेलले मात्र गोल गर्न सके। जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी अञ्जना राना मगरले बचाइन्।
असाधारण प्रदर्शन गरेकी एपीएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।
अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ। दुई विभागीय टोलीबीचको यो भिडन्त झापा महिला गोल्डकपको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगिताको फाइनल खेल २४ कात्तिकमा हुनेछ।