काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सात सवाल

उचाइमा पुग्दा सबथोक रोकिएजस्तो लाग्छ, जहाँ केवल सास र मौनता बाँकी रहन्छ।

२२ कार्तिक २०८२
अ+
अ-

सम्बन्धक, क्यान आई होल्ड योर ह्यान्डजस्ता छोटा फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मीरा खड्का फिल्म ताराहरूमा मुख्य भूमिकामा देखिएकी थिइन्। हालै उनी सिद्धार्थ पुडासैनीनिर्देशित वेब सिरिज जोडी नं १ मा पनि मुख्य भूमिकामा देखिएकी छन्।

सहारा शर्माको फिचर फिल्म एक मुठी बादलमा सहायक निर्देशकसमेत भइसकेकी उनी फोटोग्राफी, चित्रकलामा समेत रुचि राख्छिन्। खड्का नियमित इन्डोर वाल क्लाइम्बिङमा समेत जान्छिन्। उनको यही रुचिबारे गरिएको सात सवाल :

पहिलोपटक इन्डोर वाल क्लाइम्बिङ गर्ने सोच कसरी आयो?

सधैँ नयाँ कुरा सिक्न मन पर्छ। पहिलोपटक साथीले लगेको थियो, म त हेरौँ भन्ने गएकी थिएँ। तर, जब माथि पुगें, त्यो अनुभूति मनमा गढेर बस्यो। त्यसपछि छाड्नै मन लागेन।

कति समयको अन्तरालमा, कहाँ गर्नुहुन्छ वाल क्लाइम्बिङ?

काठमाडौँको ठमेलतिरका इन्डोर क्लाइम्बिङ सेन्टरहरूमा जान्छु। सकेसम्म हप्तामा दुईपटक।

उचाइप्रति तपाईंलाई किन लगाव भएको?

उचाइ मलाई स्वतन्त्रताजस्तो लाग्छ। उचाइमा पुग्दा सबथोक रोकिएजस्तो लाग्छ, जहाँ केवल सास र मौनता बाँकी रहन्छ। त्यही क्षणमा स्वतन्त्रता महसुस हुन्छ। डरलाई जितेर आफ्नै मनलाई जित्दा अनौठो खुसी।

उचाइमा पुगेको बेला मनमा चाहिँ कस्ता कुरा खेल्छन्?

त्यो क्षण मन बिल्कुल खाली हुन्छ। तलको संसार सानो देखिन्छ, र भित्रको शान्ति ठूलो। कहिलेकाहीँ सोच आउँछ— हेर त मीरा, म यहाँसम्म आइपुगेँ।

क्लाइम्ब गर्नुअघि र पछि तपाईंको स्वास्थ्य र आनीबानीमा आएका परिवर्तन के के हुन्?

पहिले म समय व्यवस्थापन गर्न र निदाउन संघर्ष गर्थें। अहिले दुवै मिलाएकी छु। शरीर हल्का भएको छ, मन अझ शान्त। खाना पनि अब केवल स्वादका लागि होइन, ऊर्जा र सन्तुलनका लागि खान सिकेकी छु।

आउटडोर क्लाइम्बिङ गर्ने आइडियल गन्तव्य पनि त होला?

म सगरमाथाको शिखरमा पुग्ने सपना देख्छु। सबै कुरा ठीक भयो भने एकदिन चढ्ने आशा राख्छु।

कुनै हिरोसँग सगरमाथा चढ्न पाउनुभयो भने कसलाई रोज्नुहुन्छ?

म चाहन्छु– इरफान खानजस्तो आत्मा भएका कलाकारसँग। उहाँ जीवित भएको भए मौन संवाद गर्दै पदयात्रा गर्थें।