काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै
अ+
अ-

काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि संक्षिप्त मन्तव्य राख्दै उनले संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए।

“अपराध र सुरक्षा चुनौतीहरूका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रुततर विकास र सुशासनको जनअपेक्षाअनुरूपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी संगठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भने।

जेन-जी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकूलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए।

समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।