नेपाली कांग्रेसमा पछिल्लो समय विशेष महाधिवेशन गर्नुपर्ने दबाब बढिरहेको छ। संस्थापन पक्ष २१ फागुनको निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्ने सोचमा रहेका बेला जेन-जी आन्दोलनपछि परिवर्तित राजनीतिक परिवेश अनुकूल हुने गरी चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने बहुसंख्यक कांग्रेस नेताहरूको माग छ।
पुस मसान्तभित्रै नियमित महाधिवेशन हुनुपर्ने आवाज उठाउँदै आएका संस्थापनइतर समूहको नेतृत्व गरिरहेका कांग्रेस नेता शेखर कोइरालाले २ मंसिरमा कांग्रेस महामन्त्री गगन थापासँग भेट गरेका थिए। पार्टीको भावी नेतृत्वका लागि प्रतिस्पर्धीका रूपमा देखिएका नेताद्वय कोइराला र थापाबीच नेतृत्व परिवर्तन, पुस्तान्तरण र महाधिवेशनका विषयमा छलफल भएको नेताहरूको भनाइ छ। उक्त भेटपछि विशेष महाधिवेशनका लागि थप दबाब सिर्जना भएको नेताहरूको बुझाइ छ।
विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेका नेता गुरुराज घिमिरे, देवराज चालिसे र सहमहामन्त्री जीवन परियार सहभागी छलफलमा नेता कोइरालाले सकेसम्म पुस मसान्तभित्र नियमित अधिवेशन नै हुनुपर्ने बताएका थिए। यदि नियमित महाधिवेशन सम्भव नभएमा विधानअनुसार विशेष महाधिवेशन गर्न सकिने उनको धारणा थियो। तर हस्ताक्षर अभियानका आधारमा नभई केन्द्रीय समितिको निर्णयबाट विशेष अधिवेशन गरिनुपर्ने नेता कोइरालाले अडान राखेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। उनले भने, “भेटघाटको खास विषय समस्याको गाँठो कसरी फुकाउने भन्नेमा केन्द्रित थियो।”
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका नेता घिमिरे कोइराला र थापाबीचको पछिल्लो छलफलबाट विशेष महाधिवेशन निर्विकल्प रहेको प्रस्ट भएको बताउँछन्।
नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। त्यस्तै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा पनि विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। नेता घिमिरेको नेतृत्वमा २९ असोजमा २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। यो १४औँ महाधिवेशनका प्रतिनिधिमध्ये ५३ प्रतिशत हो।
विधानअनुसार कांग्रेसको आगामी महाधिवेशनपछि शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ। उनी दुई कार्यकाल अध्यक्ष भइसकेका छन्।
यता, जेन-जी आन्दोलनपछि नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने आवाज झनै चर्किँदै गएका बेला कांग्रेसको संस्थापन पक्ष तुरुन्तै नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ। नेता घिमिरे अहिलेसम्म कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषयमा छलफल भइरहे पनि पुस्तान्तरणको विषयले भित्री रूपमा प्रवेश पाइनसकेको बताउँछन्। भन्छन्, “नेता कोइराला र महामन्त्री थापाबीच वान टु वान छलफल भएको थियो। त्यहाँ यस्तो विषयमा छलफल भएको हुन सक्छ।”
कांग्रेसका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासमेत नियमित महाधिवेशन हुन नसक्ने अवस्था भए चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा केन्द्रमा मात्र होइन प्रदेश र जिल्लाका नेताहरूको मत पनि बलियो छ। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर कांग्रेसका सुनसरी क्षेत्र नं. १ सभापति सुजेन्द्र तामाङ नियमित महाधिवेशन गर्दा वडा तहदेखि गर्नुपर्ने भएकाले तत्कालका लागि सम्भव नदेखिएकाले विशेष महाधिवेशन अपरिहार्य बन्दै गएको बताउँछन्। भन्छन्, “नयाँ राजनीतिक परिवेशअनुसार पनि विशेष महाधिवेशनमा जानुको विकल्प छैन।”
त्यसो त २१ फागुनको निर्वाचनका लागि १५औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने माग राख्दै संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले सात बुँदे ध्यानाकर्षणपत्र पार्टीमा बुझाएका छन्। कांग्रेस सभापति देउवा भने आफू कार्यकारी भूमिकामा नरहेको भन्दै पन्छिरहेका छन्।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कांग्रेसको बैठकले समेत महाधिवेशनका विषयमा निर्णय गर्न सकेन। अर्को बैठक मंसिर ११ मा बस्ने भएको छ।