काठमाडौँ। काठमाडौँको कोटेश्वरस्थित श्रीसा मेनपावरबाट दुबई गएका तीनजना नेपाल साढे चार महिनादेखि अलपत्र परेका छन्। बारा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का जुमन मियाँ, वडा नम्बर २ का रोशनबहादुर बस्नेत र दाङ तुलसीपुर उपमहानगरपालिका-२ का रेशम चौधरी दुबईमा अलपत्र परेका हुन्।
तीनैजनाले उद्धार गरिदिन दुबईबाट हारगुहार गरेका छन्। १५ साउन २०८२ मा दुबई गएका उनीहरूलाई श्रीसाले नेसनल प्रोजेक्ट सर्भिस कम्पनीमा काम लगाइदिने सम्झौता गरेको थियो। उनीहरूलाई मासिक १८ सय (७० हजार ५००) रुपैयाँ हुने आश्वासनमा श्रीसाले दुबई पुर्याएको थियो।
तीनैजनालाई फलाम जोड्ने काममा लगाइदिने भनी दुबई लगिएको थियो र सुरुमा मुसफ्फाहस्थित कोठामा राखिएको थियो। मुसफ्फाहको नेसनल प्रोजेक्ट सर्भिसमा आधा महिनासम्म काम लगाइएन। त्यसपछि उनीहरू हबसानस्थित एनडोक कम्पनीमा पुर्याइए। उक्त कम्पनीले चार महिनामा जम्मा १२ सय रुपैयाँ मात्रै दिएको जुमन मियाँ बताउँछन्। “यहाँ सिमेन्ट-बालुवा मुछ्ने काम दिइएको थियो, उक्त कम्पनीले चार महिनामा जम्मा १२ सय रुपैयाँ दियो, अहिले साथीभाइ र घरमा पैसा मागेर साँझ-बिहान टारिरहनु परेको छ,” मियाँले भने।
तीन सातादेखि त कामबाटै निकालिएको र कोठामा भोकभोकै अवस्थामा रहेको उनी बताउँछन्।
सम्बन्धित समाचार :
श्रीसामा उनीहरूले जनही दुई-दुई लाख रुपैयाँ तिरेर दुबई गएका थिए। उनीहरूसँगै रोयल, श्रीशा र टेस्ला म्यानपावर कम्पनीले ४७ जना दुबई पठाएका थिए। उनीहरूलाई कार्पेन्टर, प्लम्बर, वेल्डिङको काममा लगाइदिने भनी म्यानपावर कम्पनीले दुबई पुर्याएका थिए। तीमध्ये २५ जना नेपाल फर्किसके। “अन्य व्यक्ति कहाँ छन् केही पनि थाहा छैन,” उनी भन्छन्।
यी तीनवटै मेनपावरबाट दुबई पठाइएका नेपालीले श्रममा सास्ती झेल्दै आएका छन्। यसअघि ती मेनपावरबाट १४० जना व्यक्ति दुबई पुगेर अलपत्र परेपछि हारगुहार गरेका थिए।
हाल अलपत्र रहेका तीनैजनाले नेपाल फर्काइदिन सरकारसँग अनुरोध गरेका छन्। “मेनपावर कम्पनीलाई नेपाल फर्काइदिन भन्दा भरेभोलि काम पाइन्छ भन्दै झुलाउने गरेको छ,” तीनै जनाले फोनमा भने। तर, उनीहरूका अनुसार हरेक दिन मेनपावर सञ्चालकले फोन गर्दै गाडी लिन आउँछ भन्दै झुलाइरहेका छन्। “धेरै हैरानी दिइसकेका छन्, यहाँ यसरी बस्नुभन्दा नेपाल फर्किन्छौँ भन्दा पनि केही प्रक्रिया अघि बढाइदिएका छैनन्,” बस्नेतले भने।
श्रीसाका सञ्चालक बाराकै जय साह हुन्। उनले तीनजनाको समस्या रहेको र कम्पनीले कामबाट निकालिदिएको उनले बताए। साहले तीनैजनालाई नेपाल ल्याउने वा त्यहीँ व्यवस्थापन गर्नेबारे कम्पनीमा छलफल भइरहेको बताए। “भोलिबाट उनीहरूको समस्या समाधान गर्ने प्रयास हुन्छ, कम्पनीको मानिससँग मेरो कुराकानी भइरहेको छ,” साहले भने।